२५ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

एमाले स्थायी कमिटी बैठकका सात निर्णय

नेकपा (एमाले) को पहिलो स्थायी कमिटी बैठकले सातवटा निर्णय गर्दै शनिबार सम्पन्न भएको छ। तीन दिनसम्म चलेको बैठकले पार्टीका वडा तथा पालिका अधिवेशनको मिति तोक्नेदेखि राष्ट्रिय भेला आयोजना गर्ने र केन्द्रीय कमिटीमा १३ जनालाई मनोनीत गर्नेसम्मका निर्णय गरेको हो। 

बैठकले पार्टीका वडास्तरीय कमिटीको अधिवेशन आगामी मंसिर २६ गते र गाउँपालिका तथा नगरपालिका तहका कमिटीको अधिवेशन पुस ४ गते सम्पन्न गर्ने निर्णय गरेको छ। 

त्यस्तै, आगामी मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय बैठकले गरेको छ। भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन्। 

पालिका र वडा अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ। 

बैठकले मधेश प्रदेश सभामा एमालेकी समानुपातिक सांसद जैनब खातुनको निधनपछि रिक्त रहेको स्थानमा नाजिमा खातुनलाई मनोनीत गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको छ। 

त्यस्तै, पार्टी अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा सम्बन्धित जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोक्ने र संगठन कमिटीमा रूपान्तरण गरी माथिल्लो कमिटीबाट अनुमोदनका लागि पठाउने निर्णय बैठकले गरेको छ। 

बैठकले १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ। बैठकका उक्त निर्णयले एमालेको संगठनात्मक संरचना सुदृढ गर्ने, अधिवेशन प्रक्रिया अघि बढाउने र पार्टीमा नेतृत्व व्यवस्थापन गर्ने बाटो बनेको छ।  

प्रकाशित: २४ आश्विन २०८३ १६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App