नेपाल सरकारले सन्तोष पाण्डेलाई लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त गरेको छ। लुम्बिनी क्षेत्रको विकास, पूर्वाधार निर्माण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सरकारले पाण्डेलाई उक्त जिम्मेवारी दिएको हो।
संरचनागत इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका पाण्डेले काठमाडौं महानगरपालिका, तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकामा संरचनागत इन्जिनियरका रूपमा काम गरेका छन्।
काठमाडौं महानगरपालिकामा सन् २०२२ सेप्टेम्बरदेखि २०२६ जनवरीसम्म कार्यरत रहँदा उनले भवनको संरचनागत सुरक्षा, अग्ला भवनको प्राविधिक मूल्याङ्कन, नक्सा समीक्षा तथा राष्ट्रिय भवन संहिताको कार्यान्वयनमा काम गरेका थिए। त्यस्तै, तिलोत्तमा र बुटवलमा रहँदा भवन निर्माणका प्राविधिक मापदण्ड, सार्वजनिक पूर्वाधारको निरीक्षण तथा संरचनागत डिजाइन परीक्षणमा योगदान दिएका थिए।
पाण्डेले काठमाडौंस्थित एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टबाट सन् २०११ मा सिभिल इन्जिनियरिङमा स्नातक तथा भारतको विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीबाट सन् २०१६ मा स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। उनले नेपाल राष्ट्रिय भवन संहिताको समीक्षा प्रक्रियामा समेत योगदान दिएका छन्।
विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको संरक्षण, पूर्वाधार विकास, पर्यटकीय सुविधा विस्तार तथा दीर्घकालीन गुरुयोजना कार्यान्वयनमा विकास कोषको महत्त्वपूर्ण भूमिका छ।
पाण्डेको संरचनागत इन्जिनियरिङ र सार्वजनिक पूर्वाधार व्यवस्थापनसम्बन्धी अनुभवले कोषका विकास निर्माणका काम, आयोजना अनुगमन र प्राविधिक मापदण्डको कार्यान्वयनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १७ कार्तिक २०८३ १७:५३ मंगलबार





