१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

रास्वपा सांसद पाण्डेको दाबी: करिडोर विस्तार सेनाकै समन्वयमा

गोकर्णस्थित बागमती करिडोर विस्तारका क्रममा नेपाली सेनासँग विवाद भएको चर्चा भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले अन्ततः सेनाकै समन्वय र सहयोगमा सडक विस्तारको काम सम्पन्न भएको दाबी गरेका छन्।

मंगलबार विज्ञप्ति जारी गर्दै पाण्डेले सडक विस्तारको क्रममा सम्बन्धित नेपाली सेनाको टुकुडीसम्म आवश्यक जानकारी पुग्न केही मिनेट ढिलाइ हुँदा प्रारम्भिक रूपमा असहज अवस्था सिर्जना भएको स्वीकार गरेका छन्। त्यसपछि भने नेपाली सेनाका प्रमुख सेनानीसँग समन्वय र छलफल गरी सेनाकै सहयोगमा काम सम्पन्न गरिएको उनको भनाइ छ।

पाण्डेका अनुसार उक्त कार्य काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, पूर्वाधार विकास मन्त्रालय तथा अन्य सम्बन्धित निकायको उपस्थितिमा सम्पन्न भएको हो।

सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरू प्रारम्भिक समन्वय अभाव भएको केही मिनेटको अवस्थामात्र देखाउने दाबी गरे। त्यसपछि सबै पक्षबीच सहमति र समन्वय कायम गरी करिडोर विस्तार गरिएको उनले बताए।

पाण्डेले स्थानीयवासीको मागअनुसार सम्बन्धित निकायसँग समन्वय गरेर डोजर प्रयोग गरी बाटो खोलिएको उल्लेख गर्दै करिडोर क्षेत्रमा नेपाली सेनाको टुकडी रहेको जानकारी पाएपछि थप समन्वयका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई जिम्मेवारी दिइएको बताए।

साथै, घटनाको वास्तविकता नबुझी सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत भ्रम फैलाउने तथा संस्थाबीच अनावश्यक विवाद सिर्जना गर्ने गतिविधिबाट संयमता अपनाउन उनले आग्रह गरेका छन्।

प्रकाशित: १९ श्रावण २०८३ १७:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App