६ असार २०८३ शनिबार
image/svg+xml
राजनीति

रास्वपा महाधिवेशन: जनसम्बन्ध थप बलियो बनाउने आधार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। चितवनमा आगामी असार ७, ८ र ९ गते हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको रास्वपाका प्रवक्ता मनीष झाले नागरिकलाई जानकारी दिए। उनका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ।

महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको छ। ‘रास्वपाले १८ वटा उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँट गरेको थियो। प्रतिनिधि छनोटको काम सकिएर अन्य अन्य काम अन्तिम चरणमा पुगेका छन्,’ झाले भने, ‘राजनीतिक, आर्थिक, सांगठनिक विधानसहितका प्रतिवेदन तयार भइसकेका छन्। शनिबार चितवनमा बस्ने केन्द्रीय समितिले पारित गरिसकेपछि त्यो विधान वैधानिक रूपमा जान्छ।’

प्रतिनिधि, पर्यवेक्षक तथा अतिथिहरूको सहभागितासम्बन्धी व्यवस्थापन पनि लगभग सम्पन्न भइसकेको उनले बताए।

अहिले भरतपुरको गेस्ट हाउस चौरमा उद्घाटनस्थल निर्माण र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा बन्दसत्रको स्थल निर्माणको काम धमाधम भइरहेको छ। उनका अनुसार राजनीतिक दलका प्रतिनिधि, विदेशी तथा स्वदेशी पाहुनालाई निमन्त्रणा पुगिसकेको छ। पार्टी नेतृत्वले महाधिवेशनमार्फत संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति तय गर्ने तथा नयाँ नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकतामा राखेको उनले बताए।

महाधिवेशनमा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने बताए। महाधिवेशनले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै संगठन विस्तार र जनसम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरेको उनले बताए।

सचिवालयले विधान परिवर्तन गरेर १५१ केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेको छ। केन्द्रीय कार्यालयमा बिहीबार बसेको सचिवालय बैठकले पार्टी विधानमा वरिष्ठ नेतासहित पदाधिकारीमा महिलाको सहभागितालाई सूनिश्चित गर्ने गरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो। रास्वपामा हाल १२१ केन्द्रीय सदस्य छन्। सचिवालय बैठकले पदाधिकारी संख्या बढाएर १९ सदस्यीय बनाउने निर्णय गरेको हो। चितवनमा ९ गतेसम्म हुने महाधिवेशनमा दुई हजार पाँच सयको हाराहारीमा प्रतिनिधि आउने उनले बताए।

उद्घाटन सत्रमा १० हजार जना सहभागी हुने उनको अनुमान छ। ‘महाधिवेशनलाई सफल बनाउन प्रतिनिधिहरू चितवन आउने क्रम जारी छ,’ उनले भने, ‘हामीले हाम्रो अनुमानमा दुई हजारदेखि दुई हजार ५०० जनासम्म प्रतिनिधि सहभागी हुनुहुन्छ भन्ने हो।’

महाधिवेशनका लागि पार्टीका नेता, कार्यकर्ता, प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरू चितवन आउन सुरु भएको छ।

रास्वपाका केन्द्रीय सचिवालय सदस्य दीपकराज बोहराका अनुसार प्रतिनिधि तथा सहभागी आउने क्रम असार ७ गते बिहानसम्म जारी रहने छ। रास्वपाका केन्द्रीय सदस्य तथा आवास एवं भोजन व्यवस्थापन संयोजक राजन गौतमले जिल्लाजिल्लाबाट नेता तथा कार्यकर्ता चितवन आउने क्रम जारी रहेको बताए।

उनका अनुसार चितवनका होटल तथा आवास व्यवसायीसँग समन्वय गरी सुलभ दररेट कायम गरिएको छ। होटल व्यवसायी महासंघका अध्यक्ष दिनेश चुकेले भरतपुरका होटलहरू धमाधम बुकिङ भइरहेको बताए। उनका अनुसार शुक्रबार साँझसम्म भरतपुरका ५० प्रतिशत होटल बुकिङ भएका छन्। ‘धेरैजसोले ६ गतेदेखि ९ गतेसम्मलाई होटल बुकिङ गर्नुभएको छ,’ अध्यक्ष चुकेले भने, ‘मेरोमा ६० वटा कोठा छन्। ३० वटा बुकिङ भइसकेका छन्।’

 उनका अनुसार महाधिवेशनमा आउने प्रतिनिधिलाई २० देखि २५ प्रतिशत छुटको व्यवस्थासमेत गरिएको छ। भरतपुरका होटेलका क्षमता १० हजार रहेको उनले बताए।

रास्वपाले प्रतिनिधि तथा पर्यवेक्षकलाई खानाको व्यवस्था गरेको छ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले आफ्नो आवास खर्च आफैं बेहोर्ने व्यवस्था गरिएको छ। महाधिवेशन स्थलमा चर्को घाम र सम्भावित वर्षाबाट बच्न उद्घाटन स्थलमा जर्मन ह्यांगर प्रयोग गरिएको छ।

भरतपुरको गेस्टहाउस चौरमा प्रतिनिधि, परिवेक्षक र नेता कार्यकर्ताका लागि ३० हजार स्क्वायर फिटको जर्मन ह्यांगर जडान गरिएको हो। मिडिया स्पेस सोलुसनका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार बिचमा २० फिट चौडाइ र ७५ फिट लम्बाइको छानो भएको ह्यांगर जडान गरिएको छ। दुवैतर्फ २० फिट लम्बाइ र ३० फिट चौडाइका एक–एक वटा ह्यांगर जडान गरिएको छ। ती ह्यांगर बिचमा २४ फिट र छेउछेउमा १४ फिट अग्ला छन्। यो संरचनामा १५ हजार जना अट्ने भट्टराईको भनाइ छ। अन्य खाली ठाउँमा प्यागोडा शैलीका क्यानोपी टेन्ट राखिने छ।

महाधिवेशन सम्पन्न गर्न करिब चार करोड खर्च लाग्ने अनुमान गरिएको प्रवक्ता झाले जानकारी दिए। उनका अनुसार सो रकम प्रतिनिधि र पार्टीको लेबीबाट पूर्ति गरिने छ। ‘हाम्रो पार्टीको लेबी उठ्छ। प्रतिनिधिबाट डेढ करोडको हाराहारीमा रकम उठ्ने हाम्रो अनुमान छ,’ उनले भने, ‘हामीले अन्यबाट रकम संकलन गर्नुपर्ने अवस्था छैन।’

महाधिवेशनमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह लगायतले सम्बोधन गर्ने उनले बताए।

प्रकाशित: ६ असार २०८३ ०९:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App