राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुनमा हुने आम निर्वाचनका लागि बेलायतबाट समानुपातिक प्रतिनिधि सभाका उम्मेदवारका रूपमा रमेश वेलबासेको नाम सिफारिस गरेको छ।
रास्वपा प्रवास विभाग यूकेका महासचिव कृष्ण लुईटेलका अनुसार हालै बसेको पार्टी बैठकले वेलबासेको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
बेलायतबाट मास्टर डिग्री हासिल गरेका वेलबासेले नेपालमा बैंकिङ, वित्तीय क्षेत्र र नीति–सम्बन्धी संस्थाहरूमा महत्वपूर्ण कार्यअनुभव प्राप्त गरेका छन्। पछिल्ला वर्षहरूमा उनी युकेस्थित प्रवासी नेपाली समुदायबीच सक्रिय रहँदै सेवामूलक काममा संलग्न हुँदै आएका छन्।
यसअघि विदेशमा हासिल गरेको ज्ञान, सीप र अनुभवलाई स्वदेशमै उपयोग गर्न इच्छुक व्यक्तिहरूलाई समानुपातिक तर्फका उम्मेदवारीका लागि नाम दर्ता गर्न पार्टीले सार्वजनिक रूपमा आग्रह गरेको थियो।
आगामी निर्वाचनमा समानुपातिक सूचिमा प्रवास विभागमार्फत १० प्रतिशत उम्मेदवार छनोट गर्ने निर्णय रास्वपाले गरिसकेको छ।
यूके शाखाले सिफारिस गरिएको उम्मेदवारको नाम पार्टीको केन्द्रीय कार्यालयमा औपचारिक रूपमा बुझाइने तथा कानुनी र संगठनात्मक प्रक्रिया पूरा गर्दै पार्टी निर्देशिकाअनुसार अघि बढाइने जनाएको छ।
प्रकाशित: २३ मंसिर २०८२ २०:०९ मंगलबार

