१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

नागरिकको अपेक्षा पूरा गर्न रास्वपा प्रतिबद्ध छ : महामन्त्री बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कबिन्द्र बुर्लाकोटीले देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।

मकवानपुरको हेटौँडामा मंगलबारदेखि सुरु भएको रास्वपाको बागमती प्रदेश अधिवेशनमा सम्बोधन गर्दै महामन्त्री बुर्लाकोटीले जनताको पक्षमा निरन्तर आवाज उठाउँदै फरक राजनीतिक संस्कार स्थापित गर्ने उद्देश्यका साथ अगाडि बढ्नुपर्ने बताए।

महामन्त्री बुर्लाकोटीले मुलुक निर्माणका लागि प्रतिस्पर्धात्मक लोकतान्त्रिक अभ्यास आवश्यक रहेको तर्क गर्दै पार्टीमा निर्माण प्रक्रियामा खुला प्रतिस्पर्धा, विचारको बहस र योग्य नेतृत्वको चयन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।

रास्वपा बागमती प्रदेश समितिका सभापति डा अच्युतम लामिछानेको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा महामन्त्री बुर्लाकोटीले घण्टी बजाएर अधिवेशनको उद्घाटन गरेका थिए।

उद्घाटन कार्यक्रममा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली, प्रतिनिधिसभाका सदस्य जगदीश खरेल, खगेन्द्र सुनार, डा तोसिमा कार्कीलगायत प्रतिनिधिसभा सदस्य तथा केन्द्रीय नेताको सहभागिता थियो।

हेटौँडास्थित हिमालय दरबारमा सुरु भएको अधिवेशनले प्रदेश समितिको नयाँ नेतृत्व चयन गर्नेछ।

अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाबाट एक हजार ४०० प्रतिनिधिको सहभागिता थियो।

प्रकाशित: २६ जेष्ठ २०८३ १७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App