राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ। वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बैठक सुरु भएको हो।
आजको बैठकलाई रास्वपाले आगामी स्थानीय निर्वाचनको तयारी अघि बढाउने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। बैठकमा उम्मेदवार छनोटको प्रक्रिया, संगठन व्यवस्थापन र चुनावी तयारीसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ।
स्थानीय निर्वाचनका लागि तयार गरिएको ‘उम्मेदवार छनोट रूपरेखा-२०८३’ अनुमोदन गर्ने विषय बैठकको प्रमुख कार्यसूचीमा छ। उम्मेदवार छनोट समिति सदस्य मनोनयन तथा स्थानीय तहमा छनोट प्रक्रियाबारे अभिमुखीकरण र प्रशिक्षण सञ्चालन गर्ने प्रस्ताव पनि छलफलमा छ।
यसैगरी, निर्वाचित जनप्रतिनिधिलाई कार्यकाल पूरा हुनुअघि नै फिर्ता बोलाउन सक्ने ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण, विभिन्न पदमा मनोनयन तथा विभागीय जिम्मेवारी बाँडफाँटबारे पनि बैठकमा छलफल हुँदैछ।
रास्वपाको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्ताव पनि बैठकमा पेस हुनेछ। स्थानीय निर्वाचनको तयारीसँगै संगठनलाई थप व्यवस्थित बनाउने र आगामी राजनीतिक कार्यक्रम तय गर्ने विषयमा केन्द्रित आजको बैठकलाई रास्वपाको चुनावी तयारीका दृष्टिले महत्वपूर्ण मानिएको छ।
प्रकाशित: ५ भाद्र २०८३ १३:०३ शुक्रबार



-600x400.jpg)
-600x400.jpg)
