राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले रास्वपाले ध्वनि प्रदूषण हुने गरी घण्टी बजाउँदै देशव्यापी निर्वाचन आचारसंहिता उल्लंघन गरेको बताएका छन्।
रास्वपाले आचारसंहिता उल्लंघन गरिरहँदा समेत आयोगले नदेखेजस्तो गर्नु विडम्बनापूर्ण भएको उनले लगाए। उनले भने, 'घण्टी चिह्न हुने दलले ध्वनि प्रदूषण हुने गरी घण्टी बजाउँदै देशव्यापी निर्वाचन आचारसंहिता उल्लंघन गरिरहँदा आयोगले नदेखेजस्तो, नसुनेजस्तो गरिरहनु विडम्बनापूर्ण छ।'
प्रवक्ता श्रेष्ठले खुकुरी चिह्न हुनेले घण्टी बजाउँदै हिँडेजस्तो खुकुरी नचाउँदै हिँड्ने, डोजर चिह्न हुनेले सडक र राजमार्ग अवरुद्ध हुने गरी डोजर चलाउँदै हिँड्ने अवस्था आयो वा हिँड्यो भने निर्वाचन आयोगका लागि त्यो पनि स्वीकार्य हुनसक्छ? भन्दै प्रश्न समेत गरे।
साथै उनले रौतहटमा सामाजिक एकता र सदभाव खल्बल्याउने, साम्प्रदायिक वैमनस्यता पैदा गर्ने गरी भएका घटना चिन्ताजनक भएको जिकिर गरे। कुनै पनि बहानामा हिन्दु र हिन्दुत्वमाथि लक्षित घटनामा आफूहरू चनाखो रहने उनको भनाइ छ।
'रौतहटमा सामाजिक एकता र सदभाव खल्बल्याउने, साम्प्रदायिक वैमनस्यता पैदा गर्ने गरी भएका घटना चिन्ताजनक छन्। कुनै पनि बहानामा हिन्दु र हिन्दुत्वमाथि लक्षित घटनामा हामी चनाखो रहनेछौं,' उनले सामाजिक सञ्जालमा लेख्छन्, 'सामाजिक सदभाव र एकता कायम गर्न अपील गर्दछौँ। साथै, यस्ता घटना हुन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ।'
सोही क्रममा उनले गत बिहीबार राति तुलसीपुरमा एउटा दलको झण्डा जलाउँदा क्रिया प्रतिक्रियाहरु उत्पन्न भएको बताउँदै झण्डा जलाइनु अनुचित रहेको भनाइ राखे। उनले भने, 'त्यसै दिन राजा बीरेन्द्रको शालिकमाथि झण्डा जलाउने दलका कार्यकर्ताबाट अपमानजनक र दुर्व्यवहार समेत भयो, यो उछृङ्खलता र उद्दण्डताको पराकाष्ठा हो। सम्बन्धित दलले क्षमायाचना समेत नगर्नु दुर्भाग्यपूर्ण छ। इतिहासको सम्मान नगर्नेहरु उग्रवादका नयाँ 'भेरियन्ट' हुन्। शालिकमाथि दुर्व्यवहार गरिएको घटनाको निन्दा गर्दछौं।'
प्रकाशित: १० फाल्गुन २०८२ १८:२२ आइतबार





