७ आश्विन २०८३ बुधबार
image/svg+xml
राजनीति

राप्रपाले सातवटै प्रदेशको अधिवेशन एकैदिन असोज २१ गते गर्ने

मंसिरमा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने टुंगो लगाएको राप्रपा जिल्ला र प्रदेश अधिवेशनको चटारोमा छ।

मंसिरको २६ देखि २८ गतेसम्म काठमाण्डौंमा गर्ने गरी महाधिवेशनको मिति घोषणा गरेको राप्रपाले हालसम्म ७२ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ।

भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने तालिका बनाएको राप्रपाले मसान्तसम्म ७२ जिल्लाको अधिवेशन गरेको हो।

हालैको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई अधिवेशनको तालिकामा विशेष सुविधा दिएको राप्रपाले ति जिल्लाहरुलाई असोज १५ भित्र अधिवेशन गर्न समय प्रदान गरेको छ।

यसैगरी राप्रपाले भदौ मसान्तसम्म अधिवेशन गर्न बॅाकी रहेको जुम्ला र धनकुटा जिल्लालाई समेत सोही समयभित्र अधिवेशन गर्न मौका दिएको छ।

स्थानीय तह र जिल्ला तहको अधिवेशनपछि राप्रपा सबै प्रदेश अधिवेशनको तयारीमा जुटेको छ। राप्रपाले सातवटै प्रदेशको अधिवेशन एकैदिन असोज २१ गते गर्ने मिति तय गरेको छ।

केन्द्रीय निर्वाचन समितिले एकैदिन गर्ने प्रदेश अधिवेशनका लागि सातवटै प्रदेशमा केन्द्रीय निर्वाचन प्रतिनिधि खटाएको छ।

जसअनुसार कोशी प्रदेशमा निर्वाचन समिति सदस्य भरत पाठक, मधेस प्रदेशमा निर्वाचन समिति सदस्य राजाराम श्रेष्ठ, बागमती प्रदेशमा निर्वाचन समिति सदस्य प्रा।डा।जयन्तनाथ खनाल, गण्डकी प्रदेशमा निर्वाचन समिति सदस्य अमृत पुडासैनी, लुम्बिनी प्रदेशमा निर्वाचन समितिका अध्यक्ष तोरण बहादुर गुरुङ, कर्णाली प्रदेशमा निर्वाचन समिति सदस्य रमानन्द न्यौपाने र सुदुरपश्चिम प्रदेशमा निर्वाचन समितिका सदस्य सचिव श्याम बहादुर शाहीलाई केन्द्रीय निर्वाचन प्रतिनिधि तोकेको छ।

राप्रपाको विधान अनुसार प्रदेश अधिवेशनमा सम्बन्धित प्रदेश अन्तर्गतका जिल्लाका अध्यक्षहरु तथा जिल्ला कार्यसमितिले आफू मध्येबाट छानि पठाएका महिला र उत्पिडित एक–एक जना सहित ७ जना, प्रदेश अन्तर्गतका प्रतिनिधिसभा निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्षहरु तथा क्षेत्रीय कार्यसमितिले आफू मध्येबाट छानि पठाएका महिला र उत्पिडित एक–एक जना सहित ५ जना, प्रदेश अन्तर्गतका प्रदेशसभा सबै प्रदेशसभा क्षेत्रीय कार्यसमितिका अध्यक्षहरु तथा प्रदेशसभा क्षेत्रीय कार्यसमितिले आफू मध्येबाट छानि पठाएका महिला र उत्पिडित एक–एक जना सहित ४ जना र सम्बन्धित प्रदेश अन्तर्गतका नगर एवं गाउॅपालिका कार्यसमितिका अध्यक्षहरु प्रतिनिधि छनौट गरी पठाउने व्यवस्था रहेको छ।

राप्रपामा केन्द्रीय महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यहरु मध्येबाट छनौट गर्ने प्रावधान रहेको छ। समानुपातिक समावेशीताका आधारमा छनौट हुने महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यहरु मध्येबाट छानिनेछन्।

राप्रपाले असोज १५ गतेसम्म सक्रिय सदस्यताको आवेदन दिने र फाराम प्रविष्ट गर्ने समय निर्धारण गरेको छ। देशैभर सक्रिय सदस्यताको विवरण फाराम भर्ने काम धमाधम भइरहेको राप्रपाले जनाएको छ।

प्रकाशित: ७ आश्विन २०८३ १४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App