राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले पार्टीमाथि भइरहेको राजनीतिक प्रतिशोधलाई ‘२०८४ को चुनाव जग’ को संज्ञा दिएका छन्। उनले यस्ता प्रतिशोध र आक्रमणले पार्टीलाई कमजोर नभई थप शक्तिशाली बनाउने बताए।
शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सभापति रवि लामिछानेमाथिको कारबाही र अन्य आक्रमणहरूलाई भविष्यको चुनावी सफलताको आधारका रूपमा व्याख्या गरे।
‘रवि लामिछानेलाई जति धेरै दुःख दिइन्छ, जति धेरै प्रतिशोध साँधिन्छ, ८४ मा हाम्रो लागि यथेष्ट संख्याको जग बन्दैछ,’ ढकालले भने, ‘उहाँ (रवि लामिछाने) निर्भीक हुनुहुन्छ, जति दुःख दिए पनि ८४ मा दुई-तिहाइको आधार उति बलियो बन्छ भन्नुभएको छ।’
हालै सांसद सोबिता गौतमले सदनमा उठाएको ‘स्पेन काण्ड’ को प्रतिवाद गर्दै ढकालले पुराना दलहरू आफ्नो नाम जोडिएपछि अत्तालिएको आरोप लगाए। ‘भ्रष्टाचारी मुर्दावाद भन्दा हामीलाई गाली गर्यो भनेर बुझ्नेहरू, स्पेन काण्डमा नाम बाहिर आउन थालेपछि चुप छन्,’ उनले भने।
आफ्नो भाषणका क्रममा उनले भविष्यमा बहुमतसहित सत्तामा पुगे संगठित अपराध र भ्रष्टाचारमा संलग्नहरूलाई कारबाही गरेर देखाउने चेतावनी समेत दिए। ‘८४ मा संख्या पुर्याएपछि संगठित अपराध गर्ने अपराधीहरू कस्ता हुन्छन्, हामी देखाउने छौँ,’ उनले भने।
प्रकाशित: २८ असार २०८२ १६:५४ शनिबार





