अर्थराजनीतिक विश्लेषक अरुण सुवेदीले आर्थिक स्वतन्त्रताको क्षेत्रलाई पुनः संकुचित बनाइए मुलुकले अर्को आर्थिक दुर्घटना व्यहोर्नुपर्ने बताएका छन्।
ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै सुवेदीले आर्थिक स्वतन्त्रता, परराष्ट्र नीति र सांस्कृतिक पहिचानका विषयमा व्यापक बहस आवश्यक रहेको बताए।
नेपालले राजनीतिक र सामाजिक स्वतन्त्रतालाई अंगीकार गरे पनि आर्थिक स्वतन्त्रतालाई उपयुक्त रूपमा अवलम्बन गर्न नसक्दा पटक–पटक आर्थिक समस्या व्यहोर्नुपरेको उनको भनाइ छ।
‘अब फेरि आर्थिक स्वतन्त्रताको कुरालाई हामीले बाधित गर्यौँ भने अर्को दुर्घटना नभई छाड्दैन। राष्ट्र र जनताले अर्को दुर्घटना धान्न सक्दैनन्,’ उनले भने।
वर्तमान सरकारसँग संविधान संशोधन अघि बढाउनले राजनीतिक अवसर रहेको उल्लेख गर्दै सुवेदीले संविधान संशोधनको बहसलाई अघि बढाउनुपर्ने बताए।
उनले आर्थिक स्वतन्त्रतासँगै नेपालको परराष्ट्र नीति र सांस्कृतिक पहिचानका विषयमा पनि स्पष्ट र व्यापक बहस आवश्यक रहेको बताए।
प्रकाशित: २० आश्विन २०८३ १५:१८ मंगलबार





