१३ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसका मन्त्रीहरूको राजीनामा होल्ड

लुम्बिनी प्रदेश सरकारबाट राजीनामा दिने तयारीमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूको राजीनामा होल्ड भएको छ। कांग्रेसका तर्फबाट प्रदेश सरकारमा रहेका पाँचजना मन्त्रीहरूको राजीनामा सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष पेस गर्ने तयारी थियो। पाँचैजना मन्त्रीहरूले पार्टी संसदीय दलको कार्यालयमा आआफ्नो राजीनामा पत्र आइतबारै पठाइसकेका थिए, तर सोमबार उनीहरूले राजीनामा बुझाउने तयारी गरेको भए पनि कांग्रेसले राजीनामा होल्ड गरिदिएको हो।

कांग्रेस संसदीय दलले नै आफ्ना मन्त्रीहरूको राजीनामा केही समय होल्ड गर्ने निष्कर्षमा पुगेको कांग्रेसले जनाएको छ। ‘प्रदेश सरकारमा रहेका हाम्रा पार्टीका मन्त्रीहरूले राजीनामा सोमबार बुझाउने भन्ने अन्तिम तयारी थियो, उहाँहरू सबैको राजीनामा पत्र संसदीय दलसमक्ष पुगिसकेको छ’, कांग्रेस प्रदेश प्रमुख सचेतक जमुना ढकालले भनिन्, ‘राजनीतिक दलहरूका बिचमा भएका केही संवादले अहिल्यै राजीनामा दिन हतार गर्न नहुने भन्ने निष्कर्ष निकालेपछि हाललाई रोकिएको छ।’

स्रोतका अनुसार कांग्रेसले लुम्बिनी प्रदेश सरकार गठनका लागि अन्य दलसँग वार्ता प्रयास थाल्ने जनाएको छ। यसको पहलस्वरूप एमालेसँग कांग्रेसको अनौपचारिक संवाद भएको थियो। अझ विशेषगरी मुख्यमन्त्री चेतनारायण आचार्यसँग मन्त्रीहरूको राजीनामाका विषयमा कांग्रेसले चासो राखेको थियो। यही अनौपचारिक छलफलका आधारमा नै राजीनामाको विषयलाई केही समय होल्ड गरेर जाने निचोडमा कांग्रेस पुगेको स्रोत बताउँछ।

‘विकसित राजनीतिक घटनाक्रमले कस्तो रूप लिन्छ? त्यसलाई हेरेर अगाडि बढ्ने निचोडमा पार्टी पुगको छ’, स्रोत भन्छ, ‘तर नेकपा र एमालेका बिचमा भएको सहमतिबमोजिम सरकार निर्माणको परिस्थति बन्नासाथ कांग्रेस सरकारबाट बाहिरिन्छ, कांग्रेसका मन्त्रीहरूको राजीनामा तयारी अवस्थामा छ, बुझाउन मात्रै बाँकी छ।' काठमाडौंमा रहेका कांग्रेसका केही मन्त्रीहरू राजीनामा दिनुपर्ने अवस्था आउने भन्दै सोमबार दाङ फर्किएका छन्, तर उनीहरूलाई पार्टी संसदीय दलले अहिले राजीनामा दिन हतार नगर्न निर्देशन दिएको छ।  

दुई वर्षसम्म एमालेसँगको सत्ता सहकार्यमा रहेको कांग्रेस यो प्रदेश सरकारबाट बाहिरिन चाहेको छैन। फलतः ऊ सरकारमा आफ्नो सहभागिताका लागि नयाँ समीकरणको समेत उपायको खोजीमा छ। नेकपा र एमालेबिच सत्ता सहकार्यको सहमतिअगाडि त कांग्रेस प्रदेश समिति तथा संसदीय दलले एमालेसँगको सहकार्यलाई निरन्तरता दिने निर्णयसमेत गरेका थिए, तर कांग्रेसको यो निर्णय तत्पश्चात् एमाले र नेकपाका बिचमा भएको सहमतिले परिणामविहीन बनाइदिएको थियो।

प्रदेश सरकारमा कांग्रेसका तर्फबाट सरोज थापा सहरी विकास तथा खानेपानीमन्त्री, धनेन्द्र कार्की आर्थिक मामिलामन्त्री, प्रचण्डविक्रम न्यौपाने उद्योग पर्यटन तथा यातायातमन्त्री, जन्मजय तिमिल्सिना सामाजिक विकासमन्त्री र देवकरण प्रसाद कलवार वनमन्त्री छन्।  

यता नयाँ सरकार गठन प्रयासमा रहेका एमाले र नेकपाका बिचमा अहिलेसम्म सत्ता सहयात्राको खाकासमेत बन्न सकेको छैन। मूलतः एमालेले सरकारको नेतृत्वमा कसलाई पठाउने भन्ने विषय नै पेचिलो बन्दै गएको छ। यो प्रदेश सरकारको नेतृत्व एमालेको भागमा पर्ने गरी भागबन्डा भएको छ।

प्रदेशका मुख्यमन्त्री एमालेकै चेतनारायण आचार्य छन्, तर नेतृत्वमा उनको निरन्तरता रहने कि नरहने भन्ने अन्योल अवस्था देखिएको छ। एमालेभित्र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने गरी सरकार निर्माण गर्ने एउटा पक्ष देखिएको छ भने अर्कातर्फ मुख्यमन्त्रीसमेत परिवर्तन गरिनुपर्ने आवाज एमालेभित्र व्यापक बन्दै गइरहेको छ। एमालेबाट भुमिश्वर ढकाल नयाँ मुख्यमन्त्रीका रूपमा आउन सक्ने बलियो सम्भावनाको चर्चासमेत बाक्लिएको छ।

‘अहिलेकै मुख्यमन्त्रीज्यूले सरकारको नेतृत्व गर्ने कि नयाँ मुख्यमन्त्री नियुक्त गरेर जाने भन्ने बहस पार्टीभित्र चलेको छ’, मुख्यमन्त्री आचार्य निकटस्थ स्रोतले भन्यो, ‘नयाँ मुख्यमन्त्री नियुक्त गरेर जाने पार्टीको निर्णय भयो भने हालका मुख्यमन्त्रीज्यूले समेत राजीनामा दिने परिस्थिति बन्छ, फलतः अहिल्यै के हुने भन्ने निर्क्यौल भइसकेको छैन।’

प्रकाशित: १२ श्रावण २०८३ ०७:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App