२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

राजनीतिमा पद होइन, प्रतिष्ठा सफलताको मानक: गगन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदभन्दा पनि समाजमा आर्जन गरेको प्रतिष्ठा नै राजनीतिमा सफलताको वास्तविक मानक भएको बताएका छन्।

स्वर्गीय श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सभापति थापाले पार्टीभित्रका आन्तरिक असमझदारीहरूलाई मिलाएर सङ्गठनलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिए। तर, एकताका नाममा पार्टीको मर्म, पहिचान र चरित्रलाई मार्न नहुने उनले सुनाए।

विगतमा जस्तै हरेक कार्यकर्ताले आफूलाई कांग्रेस भनेर गर्वका साथ छाती पिटेर उभिन सक्ने वातावरण पुन: निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

‘राजनीतिमा धेरै मानिसहरू भए पनि पद औंलामा गन्न सकिने सीमित व्यक्तिले मात्रै प्राप्त गर्छन्,’ थापाले भने, ‘त्यसैले पद सफलताको मानक होइन। हामीले आर्जन गरेको प्रतिष्ठालाई सफलताको मानक बनाउन सक्यौं भने प्रत्येक व्यक्तिले त्यो सम्भावना बोकेर हिँड्न सक्छ।’

पार्टीको भ्रातृ सङ्गठन र युवापुस्तामा कांग्रेसप्रतिको साख र गौरव पुनरुत्थान गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै थापाले पार्टीलाई सोही दिशामा अगाडि बढाउनुपर्ने बताए।

उक्त स्मृति सभामा कांग्रेसका अन्य नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रकाशित: २३ श्रावण २०८३ १४:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App