राष्ट्रिय सभाकी सदस्य रेणु चन्दले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई आफ्नो जिम्मेवारी पूरा गर्न नसके पदबाट राजीनामा दिन आग्रह गरेकी छन्। मन्त्री गौतमले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएका कारण कानुन निर्माणमा असहयोग भएको अभिव्यक्ति दिएको भन्दै चन्दले त्यसप्रति आपत्ति जनाएकी हुन्।
उनले मन्त्री गौतमले राष्ट्रिय सभामाथि दोष थोपरेर आफ्नो असक्षमता ढाक्न खोजेको र जनतालाई मिथ्या सूचना दिएको आरोप लगाइन्।
राष्ट्रिय सभाको बैठकमा बोल्दै चन्दले भनिन्, ‘कुर्सी तपाईंको कुनै जनाजा त होइन। केही गर्न सक्नुहुन्न भने ओर्लिनुस्। हामीमाथि ब्लेम किन लगाउनुहुन्छ ?’
उनले सरकारले ल्याएका अध्यादेश तथा विधेयक पारित गर्ने काममा राष्ट्रिय सभा बाधक नरहेको बताउँदै सरकारले चाहेमा अध्यादेशबाट कानुन ल्याउन सक्ने र संसद्मा विधेयक ल्याएपछि संवैधानिक प्रक्रियाअनुसार काम हुने उनको भनाइ थियो।
‘जनजीविकासँग जोडिएका विषयमा कानुन बनाउन राष्ट्रिय सभाले रोकेको हो? जनजी आन्दोलनसँग भएको सम्झौता कार्यान्वयन गर्न कानुन बनाउन राष्ट्रिय सभाले रोकेको हो? क्षतिपूर्ति दिन राष्ट्रिय सभाले रोकेको हो ?’ चन्दले प्रश्न गरिन्।
उनले राष्ट्रिय सभाले संविधानले दिएको अधिकार र जिम्मेवारीअनुसार कानुन निर्माणमा काम गर्दै आएको बताइन्। प्रतिनिधिसभाबाट पारित भएका विधेयकको समीक्षा, सुधार तथा आवश्यक नियन्त्रण गर्ने जिम्मेवारी राष्ट्रिय सभाको समेत रहेको उनको भनाइ थियो।
चन्दले जनताको हितविपरीत देखिएका विधेयक फिर्ता गर्ने तथा विधेयक निर्माण प्रक्रियामा सूक्ष्म ढंगले काम गर्ने उदाहरण राष्ट्रिय सभासँग रहेको दाबी गरिन्।
भूमि विधेयक राष्ट्रिय सभाबाट फिर्ता भएको र संघीय निजामती कर्मचारीसम्बन्धी विधेयकमा समेत राष्ट्रिय सभाले महत्त्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरिन्। राष्ट्रिय सभाले विधेयक निर्माणमा कसरी काम गर्छ भन्ने विषयमा प्रतिवेदनसमेत सार्वजनिक भइसकेको उनले बताइन्।
‘राष्ट्रिय सभा संविधानबमोजिम काम गर्ने सभा हो। हाम्रो दलको सरकार हुँदा पनि विधेयक फिर्ता पठाएको सभा हो। राष्ट्रिय सभाको अपमान र डिफेम गर्ने काम हामी सहँदैनौँ,’ चन्दले भनिन्।
प्रकाशित: २५ भाद्र २०८३ १४:३६ बिहीबार





