नेपाली कांग्रेस कोशी प्रदेशको सभापतिमा मोरङका रमेशजङ्ग रायमाझीले उम्मेदवारी घोषणा गरेका छन्। सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी रायमाझीले उम्मेदवारी घोषणा गरेका हुन्।
राष्ट्रिय सभाका पूर्वसदस्य समेत रहेका रायमाझीले आफू लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहेको र प्रदेशको उपसभापतिको जिम्मेवारीसमेत सम्हालिरहेकाले नेतृत्वमा दाबी स्वाभाविक भएको बताए।
पार्टीलाई नेतृत्व गरेर अघि बढाउने उद्देश्यले सभापतिमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ। रायमाझीले आफूले पार्टीको विभिन्न जिम्मेवारी र राष्ट्रियसभामा संसदीय दलको नेताका रूपमा समेत काम गरिसकेको उल्लेख गर्दै नेतृत्वका लागि आवश्यक अनुभव आफूसँग रहेको दाबी गरे।
सभापतिमा उम्मेदवारी घोषणा गर्दै रायमाझीले आफूलाई सबै पक्षको साथ र सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरेका छन्।
रायमाझीका अनुसार कोशी प्रदेशमा करिब २ हजार ५ सय प्रतिनिधिहरू रहेको जानकारी दिए। उनका अनुसार कोशी प्रदेश अधिवेशन पुस महिना भित्रै हुनेछ।
प्रकाशित: ३० कार्तिक २०८३ १८:२७ सोमबार




