२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

बहुमत ल्याउने कांग्रेस-एमाले मात्र हुन्, अरु ‘हा हु’ हरुले २० वर्षसम्म सक्दैनन्: ओली

फाइल।

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ दलहरूप्रति टिप्पणी गर्दै उनीहरूले आगामी २० वर्षसम्म बहुमत ल्याउन नसक्ने दाबी गरेका छन्।

वरिष्ठ पत्रकार विजय कुमार पाण्डेसँगको एक अन्तर्वार्तामा उनले यस्ता दलहरूको उदयलाई ‘हा हु’ को संज्ञा दिँदै यो क्षणिक मात्र हुने बताए।

अध्यक्ष ओलीले नेपालमा नेकपा (एमाले) र नेपाली कांग्रेसबाहेक अन्य दलले बहुमत ल्याउने परिकल्पनासमेत गर्न नसकिने जिकिर गरे।

‘अरू पार्टीहरूको बहुमत ल्याउने, त्यो भन्ने कुरा केही वर्षलाई परिकल्पना गर्न सकिँदैन,’ ओलीले भने, ‘यो भनेको दुई वर्ष, चार वर्ष होइन, १०-२० वर्षलाई सक्दैनन्।’ 

नयाँ दलहरूको उदयलाई क्षणिक लहरको रूपमा व्याख्या गर्दै उनले भने, ‘हा हु’ भनेको एकपटक आउँछ, फेरि त्यो सेलाएर जान्छ। ५/१० सिटको कुरा हो।’ 

अध्यक्ष ओलीले वर्तमान निर्वाचन प्रणालीका कारण कुनै पनि दललाई बहुमत ल्याउन सहज नभए पनि असम्भव भने नभएको सुनाए।

‘यो संविधान अन्तर्गत पनि बहुमत ल्याउन सकिन्छ,’ उनले भने, ‘तर त्यसका लागि कुनै पार्टी जनताको बहुसंख्याले भोट हाल्ने पार्टी हुनुपर्‍यो।’

उनले प्रतिपक्षीहरूले बहुमत रोक्न अनेक आरोप र चरित्रहत्या गर्ने गरेको र त्यसलाई पराजित गरेर अगाडि बढ्नुपर्ने धारणा राखे।

राजावादी शक्तिप्रति पनि कटाक्ष गर्दै ओलीले भने, ‘कम्युनिस्टको नाम ठगेर खान पाइन्छ, कांग्रेसको नाम ठगेर खान पाइन्छ भने राजाको नाम पनि ठगेर खाने किन नपाइयोस् ?’ 

उनले संविधानका कतिपय धारा र सर्वोच्च अदालतका व्याख्याले पनि सरकार सञ्चालनमा अप्ठ्यारो सिर्जना गरेको टिप्पणी गरे। ‘संविधानले आफैँमा कतिपय कुरा स्पष्ट गर्न नसकेर अप्ठ्यारो छ। कतिपय कुरा संविधानको व्याख्याले अप्ठ्यारो छ,’ ओलीले भने।

प्रकाशित: १ श्रावण २०८२ १९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App