२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

देशप्रति रविलक्ष्मीको चासो, साउती मार्दै झलनाथसँग सोधिन्: परराष्ट्र मन्त्री को बन्यो ?

जेन–जी आन्दोलनको एक महिना पूरा भएको छ। भदौ २३ गतेको प्रदर्शन र सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका र घाइते भएका युवा तथा २४ गतेको तोडफोड र आगजनीको घाउ अझै आलै छ। घाइतेहरूको उपचार विभिन्न अस्पतालमा भइरहेको छ। आगो लागेर ध्वस्त भएका संरचनाबाट भग्नावशेष पन्छाउने काम पनि चली नै रहेको छ। जलेका र भत्किएका संरचनालाई मर्मत गरेर सेवा सुरु भएका छन्। 

जेन–जी आन्दोलनका क्रममा घरमा लगाइएको आगो शरीरमा सल्किएपछि सख्त घाइते भएकी पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल पत्नी रविलक्ष्मी चित्रकारको असोज ६ गतेयता भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको छ। कीर्तिपुरस्थित बर्न अस्पताल र अपोलोसहित गरेर एक महिना लामो उपचारपछि प्राध्यापक रविलक्ष्मीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ।

रविलक्ष्मीको १५ प्रतिशत शरीर जलेको थियो। अहिले फोक्सोले पूर्ण रूपमा काम गर्न थालेको छ। रक्तसञ्चारमा उल्लेख्य सुधार छ। रगतमा युरियाको मात्रामा बिस्तारै कमी आउँदै गए पनि पूर्ण रूपमा सफा भने भइसकेको छैन। श्वास नलीमा भएको सङ्क्रमण अब ठिक भएको छ। आगोको लप्काले बनाएको शरीरका बाहिरी घाउमा पनि सुधार आएको छ। 

कहिलेकाहीँ रक्तचाप अत्यधिक बनिदिन्छ। तीन दिन अघि मात्र २२०/१२० पुगिदियो। मुटुको चाल पनि १४० भन्दा बढी भयो। तर चिकित्सकको सुझबुझपूर्ण निर्णयले तत्काल नियन्त्रणमा आयो। पुनः कुनै पनि प्रकारको सङ्क्रमण हुन नदिन चिकित्सकहरू सजग छन्।

उनी खाना खान, बोलचाल गर्न र प्रतिक्रिया जनाउन सक्ने भएकी छन्। बायाँ हात छैन तर पनि पुरानै अवस्थामा फर्किन उनले आफैँ पहल थालेकी छन्।   

तर विडम्बना उनको आवाज फर्किएको छैन। डल्लुस्थित निवासमा भदौ २४ गते प्रदर्शनकारीले लगाएको आगोको लप्का निल्न पुग्दा श्वास नलीमा भएको मेम्बरेन ड्यामेज भयो। क्रिया प्रतिक्रिया जनाउन सक्ने भए पनि उनले बोलेरै पति झलनाथ, छोरा निर्भीक र चिकित्सकहरूसँग कुराकानी भने गर्न पाएकी छैनन्। इसाराले बोलाउँछिन् र साउती मार्दै कुरा गर्छिन्। सबै कुरा ठिक हुँदै गएपछि मेम्बरेन पनि बिस्तारै नयाँ पलाउने र आवाज फर्कने कुरा चिकित्सकले बताएका छन्। 

यो पनि पढ्नुहोस्

प्रदर्शनकारीको घेरामा पत्नी र पुत्रलाई छाडेर घरबाट किन निस्किए जेएन ?

घरपरिवार, आफन्तका साथै पति र छोराको दिल्ली बसाइँबारे सोधी खोजी गर्छिन्। अपोलो अस्पतालको बेडमा बसेर हिजोआज रविलक्ष्मी राजनीतिप्रति चासो राख्न थालेकी छन्। पति झलनाथलाई पूर्ण रूपमा साथ दिएर राजनीतिबाट बाहिर प्राध्यापन पेसा अँगालेकी उनी जेन-जी आन्दोलनका क्रममा सर्वस्व गुमाएपछि भने राजनीतिक कुरा गर्न थालेकी छन्। पति झलनाथसँग उनी नेपालमा भइरहेको राजनीतिक घटनाक्रमबारे कुराकानी गर्छिन्। पछिल्लो अपडेट लिन्छिन्। मुलुकले पहिलो महिला प्रधानमन्त्री पाएकोमा उनलाई गर्व छ। यो सरकारले जसरी पनि फागुन २१ गते निर्वाचन गराउनुपर्छ भन्ने चिन्ता छ उनको। त्यसका लागि सबैले साथ दिनुपर्छ भन्ने मान्यता उनको छ। 

सरकारमा भएका मन्त्रीहरूबारे उनीलाई राम्रै हेक्का छ। गृह, अर्थ, कानुन, सञ्चार, कृषि, ऊर्जा सबै मन्त्रीलाई उनी चिन्छिन्। पति झलनाथको कानमा साउती मार्दै एक बिहान उनले सोधिन्–परराष्ट्र मन्त्री को बन्यो? 

नयाँ दिल्लीमा असोज ६ गतेयता उपचाररत उनलाई परराष्ट्र मन्त्रीबारे किन चासो प¥यो भन्ने भन्ने लाग्नु स्वाभाविक पनि हो। पूर्व प्रधानमन्त्री खनालले उनको चासोबारे स्पष्ट पार्दै भने, आफ्नो सर्वस्व सकिने गरी भएको आन्दोलनले दिने उपलब्धि कस्तो हुँदै छ? भनेर जान्ने चाहाना उनीमा धेरै नै छ।  

श्री एयरलाइन्सको एयर एम्बुलेन्सबाट दिल्ली उड्दै गर्दा भारतीय दूतावासले रविलक्ष्मी र उनको परिवारलाई राम्रै सहयोग गरेको थियो। अहिले उपचार र उपचार खर्चबारे पनि समन्वय गरिदिओस् भन्ने चाहाना उनमा छ। पूर्व प्रधानमन्त्री भएर पनि खनालसँग सक्रिय बैंक अकाउन्ट छैन। घरभित्र भएको रकम लुटियो, जल्यो । श्रीमती र छोरोको अकाउन्टमा उपचारका लागि आवश्यक पर्ने पूरा रकम छैन। अस्पताल प्रशासनले करिब ६० लाख भारतीय रुपैयाँ (एक करोड नेपाली रुपैयाँ) चानचुन खर्च हुने र सोही अनुसारको प्रबन्ध मिलाउन भनेको छ। ‘यत्रो रकम तत्काल जो हो गर्न सक्ने अवस्थामा म छैन,’ झलनाथले भने, ‘फेरि नयाँ दिल्लीमा छु। रविलक्ष्मीलाई छाडेर नेपाल जाने अवस्था पनि छैन।’

दिल्ली जानुअघि उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर निवेदन भने दिएका थिए, तर त्यसको कुनै प्रतिक्रिया सरकारबाट आइसकेको छैन। ‘सरकारले आन्दोलनका क्रममा घाइते भएका सबैको उपचार निःशुल्क गरिरहेको छ। रविलक्ष्मी पनि त जेन–जी आन्दोलनकी घाइते हुन्,’ उनले भने।

रविलक्ष्मीको स्वास्थ्यमा आएको सुधारले झलनाथ र उनको परिवार खुसी छ। ‘अब त बचाउन सकिन्छ भन्ने लागेको छ। ८० प्रतिशत आशावादी भएको छु,’ खनालले भने, ‘आवाज फर्किने क्रममा छ। पूर्ण स्वस्थ भएपछि मात्र नेपाल लिएर आउँछु।’  

प्रकाशित: २४ आश्विन २०८२ १८:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App