राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हाल भारतको पाँचदिने औपचारिक भ्रमणमा छन्।
न कुनै संवैधानिक पद न त मन्त्री वा प्रधानमन्त्री, कुनै पनि संवैधानिक पद वा सरकारी जिम्मेवारीमा नरहे पनि लामिछानेले दिल्लीमा पाएको उच्चस्तरीय स्वागत र भेटघाटले नेपालको राजनीतिमा तरङ्ग पैदा गरिदिएको छ।
उनलाई दिइएको ‘रेड कार्पेट’ सहितको सम्मानले लामिछानेलाई केवल एक दलको नेताका रूपमा मात्र नभई भारतले आगामी दिनको सम्भावित शक्तिकेन्द्रका रूपमा हेरेको छ।
दिल्ली अवतरण गरेलगत्तै भाजपाका शीर्ष नेतृत्वबाट स्वागत पाएका सभापति लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरे। सामान्यतया नेपालका बिरलै नेतालाई संवादका लागि समय दिने प्रधानमन्त्री मोदीले लामिछानेसँगको भेटलाई प्राथमिकतामा राख्नुले नेपालभित्र राजनीतिक तरङ्ग ल्याइदिएको हो।
प्रधानमन्त्री मोदी र लामिछानेबीचको यो संवादले नेपालको नयाँ शक्तिको उदयलाई भारतले विशेष महत्त्व दिएको स्पष्ट पार्छ। यसअघि उनले भारतीय विदेशमन्त्री एस. जयशंकर र अन्य प्रभावशाली नेताहरूसँग पनि भेटघाट गरिसकेका छन्।
यी भेटघाटहरूले नेपालको आन्तरिक राजनीतिमा अबको निर्णायक शक्ति को हुन सक्छ भन्ने विषयमा दिल्लीको दृष्टिकोण फेरिएको आशंकालाई बल पुर्याएको छ।
सामान्यतया कुनै देशको दलगत नेताले यस्तो स्तरको राजनीतिक पहुँच प्राप्त गर्नु असामान्य मानिन्छ। यही कारण यो भ्रमणलाई केवल ‘शिष्टाचार भ्रमण’ का रूपमा मात्र हेर्न कठिन छ।
भारतले नेपालका परम्परागत राजनीतिक दलहरूसँग दशकौँदेखि सम्बन्ध राख्दै आएको छ। तर पछिल्लो समय नेपाली राजनीतिमा नयाँ शक्तिको रूपमा उदाएको रास्वपा तथा त्यसका नेता लामिछानेप्रति भारतले विशेष चासो देखाएको छ।
यसको पहिलो राजनीतिक अर्थ भारतले नेपालको बदलिँदो जनमतलाई स्वीकार गर्न थालेको मान्न सकिन्छ। पछिल्लो निर्वाचनमा नेपाली मतदाताले पुराना दलप्रति असन्तुष्टि जनाउँदै नयाँ शक्तिलाई अवसर दिएका थिए।
त्यसको लाभ रास्वपाले २०७९ सालको निर्वाचनमा थोरबहुत र २०८२ को निर्वाचनमा अत्यधिक पायो। फलस्वरूप १८२ सिटसहित रास्वपा अहिले देशकै शक्तिशाली दल बन्न पुग्यो। त्यसैले भारतले पनि भविष्यको सम्भावित शक्तिकेन्द्रसँग सम्बन्ध विस्तार गर्न खोज्नु स्वाभाविक रणनीति मान्न सकिन्छ।
दोस्रो, यो भ्रमण नेपालभित्रको वर्तमान राजनीतिक परिस्थितिसँग पनि जोडिएको देखिन्छ। पछिल्ला महिनाहरूमा नेपाल-भारत सम्बन्धका विभिन्न संवेदनशील विषयहरू, विशेषगरी सीमा विवाद र कूटनीतिक अभिव्यक्तिहरू चर्चामा रहेका बेला रवि लामिछानेको दिल्ली भ्रमण भएको छ।
भारतले सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार गर्दै द्विपक्षीय संवादमार्फत समाधान खोज्नुपर्ने आफ्नो पुरानो अडान दोहोर्याएको छ। यस्तै सन्दर्भमा नेपाली राजनीतिका नयाँ प्रभावशाली नेतासँग उच्चस्तरीय संवाद गर्नु भारतका लागि रणनीतिक महत्वको विषय हुन सक्छ।
अर्कोतर्फ लामिछानेको यो भ्रमणलाई फरक-फरक अर्थ लगाउनु हतारो पनि हुन सक्छ। भारतले लामो समयदेखि दक्षिण एसियाली छिमेकी देशहरूका विभिन्न राजनीतिक दलहरूसँग ‘पार्टी–टु–पार्टी’ सम्बन्ध विस्तार गर्ने नीति अपनाउँदै आएको छ।
भाजपा र रास्वपाबीचको सम्बन्ध स्थापना पनि त्यसैको निरन्तरता हुन सक्छ। आधिकारिक रूपमा दुवै पक्षले लोकतान्त्रिक अभ्यास, संगठन निर्माण, युवा नेतृत्व र द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताएका छन्।
सार्वजनिक छविको दृष्टिकोणबाट हेर्दा भ्रमण रवि लामिछानेका लागि निकै सफल देखिन्छ। नेपालमा उनीमाथि हुने राजनीतिक आलोचना, विवाद र प्रतिस्पर्धाका बीच दिल्लीमा प्राप्त भएको सम्मानले उनको अन्तर्राष्ट्रिय राजनीतिक स्वीकार्यता बढाएको सन्देश समर्थकहरूलाई दिन सक्छ।
विशेषगरी युवा मतदाता र मध्यम वर्गबिच उनले आफूलाई केवल राष्ट्रिय होइन, क्षेत्रीय स्तरमा पनि संवाद गर्न सक्ने नेताका रूपमा प्रस्तुत गर्ने अवसर पाएका छन्।
अर्कोतर्फ, यसले आलोचकहरूलाई पनि प्रश्न उठाउने ठाउँ दिएको छ। भारतले किन यति धेरै महत्त्व दियो ? के यो केवल राजनीतिक सम्बन्ध विस्तारको प्रयास हो वा भविष्यको नेपाली नेतृत्वसँग सम्बन्ध सुदृढ बनाउने दीर्घकालीन रणनीति ? यस्ता प्रश्नहरू आगामी दिनमा अझ बढी बहसको विषय बन्न सक्छन्।
समग्रमा, रास्वपा सभापति लामिछानेको भारत भ्रमण केवल दलगत भ्रमणमात्र हैन भनेर बुझ्न भने सकिन्छ। यसले दीर्घकालीन अर्थ बोकेको देखिन्छ।
भ्रमणपछि नेपाल–भारत सम्बन्ध, रास्वपाको विदेश नीति दृष्टिकोण तथा नेपालको आन्तरिक राजनीतिक समीकरणमा कस्तो असर पर्छ भन्ने कुरा आगामी महिनाहरूमा स्पष्ट हुनेछ।
अहिलेका लागि भने एउटा कुरा निश्चित छ। दिल्लीले रविलाई केवल एक दलका नेता होइन, नेपालको राजनीतिमा निर्णायक भूमिका खेल्न सक्ने सम्भावित शक्तिका रूपमा हेर्न थालेको छ।
प्रकाशित: २० जेष्ठ २०८३ १६:०४ बुधबार




_-600x400.jpg)
