चार दशकअघि पञ्चायती सत्ताले गरेको राजनीतिक दमनको एउटा अध्याय नेमकिपाले फेरि सम्झिएको छ। २०४५ सालको ‘भक्तपुर काण्ड’लाई ‘राज्यस्तरबाट रचिएको राजनीतिक षड्यन्त्र’ भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) जुम्लाले भदौ ९ लाई ‘कालो दिन’का रूपमा स्मरण गरेको हो।
सदरमुकाम खलंगामा र्याली निकाल्दै नेमकिपाले भक्तपुर काण्डको विरोधमा भत्र्सना कार्यक्रम गरेको छ। बजार परिक्रमा गरेको ¥याली बालमन्दिर पुगेपछि कोणसभामा परिणत भएको थियो। सभामा सहभागी नेताहरूले चार दशक पुरानो घटनालाई इतिहासको एउटा पाना मात्रै नभई राजनीतिक दमन, प्रतिरोध र संघर्षको पाठका रूपमा व्याख्या गरे।
नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले जनताको पक्षमा बोल्ने र राज्यसत्ताको गलत कामको विरोध गर्ने राजनीतिक शक्तिलाई कमजोर पार्ने प्रयास सधैं हुने बताए। भ्रष्टाचार, शोषण र राज्यस्रोतको दोहनबाट लाभ लिने प्रवृत्तिविरुद्ध उभिनु नै राजनीतिक शक्तिका लागि चुनौती बन्ने उनको भनाइ थियो।
‘भक्तपुर काण्डले नेमकिपालाई समाप्त पार्न सकेन, बरु अझ दृढ बनायो,’ काफ्लेले भने, ‘आज पनि पार्टी आन्दोलन, क्रान्ति र संघर्षको बाटोमा अडिग छ।’
उनले पार्टीलाई कमजोर बनाउने प्रयास फरक–फरक रूपमा हुन सक्ने भन्दै कार्यकर्तालाई राजनीतिक रूपमा सचेत र संगठित रहन आग्रह गरे। उनका अनुसार विगतमा भएको दमनको अनुभवबाट सिक्दै वर्तमानका चुनौती सामना गर्नुपर्ने आवश्यकता छ।
काफ्लेले भक्तपुर काण्डको शिक्षालाई इतिहास सम्झने विषयमा मात्र सीमित गर्न नहुने बताए। ‘भक्तपुर काण्डले दिएको शिक्षा संघर्षमा मार्गदर्शन गर्ने आधार हो,’ उनले भने।
यस्तै, नेमकिपा जुम्लाका पार्टी अध्यक्ष पूर्णलाल खत्रीले भक्तपुर काण्डलाई पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय नेमकिपालाई समाप्त पार्ने योजनाका रूपमा चित्रण गरे।
उनका अनुसार २०३५ सालमै पार्टी अध्यक्ष रोहितमाथि ज्यान मार्ने षड्यन्त्र भएको थियो। त्यसैको निरन्तरताका रूपमा २०४५ सालमा भक्तपुर काण्ड रचिएको उनको दाबी छ।
घटनाको पूर्ण विवरण सार्वजनिक हुनुअघि नै तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहलगायत राष्ट्रिय पञ्चायतका सदस्यहरू ‘रोहितलाई फाँसी दे’ भन्ने नारासहित शवयात्रामा सहभागी भएको उनले बताए। कानुनी प्रक्रिया अघि नबढ्दै आएको यस्तो राजनीतिक प्रतिक्रिया नै घटनाको गम्भीरता बुझाउने आधार भएको खत्रीको भनाइ थियो।
उनले भने, ‘पञ्चायतको विरोधमा नेमकिपा सक्रिय थियो। त्यसैले पार्टीलाई समूल नष्ट गर्ने प्रपञ्च रचिएको थियो।’
नेमकिपाका नेता शिवलाल डाँगीले राजनीतिक घटनाको इतिहास नबुझी वर्तमानको राजनीतिक परिवर्तन बुझ्न नसकिने बताए।
राजनीतिक रूपमा सचेत नभएसम्म परिवर्तनलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै उनले विगतका जेल जीवन, राजनीतिक दमन र प्रतिरोधका अनुभवलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्ने बताए।
उनका अनुसार संघर्षका ती अनुभव पुराना पुस्ताका स्मरणमा सीमित राख्नु हुँदैन। लिखित इतिहास र संस्मरणमार्फत नयाँ पुस्तालाई हस्तान्तरण गर्न सके विगतका कठिन संघर्षबाट राजनीतिक चेतना र ऊर्जा लिन सकिन्छ।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले भक्तपुर काण्डको पृष्ठभूमि, घटनाक्रम, राजनीतिक दमन, जेल जीवन, संघर्ष र त्यसबाट प्राप्त शिक्षाबारे धारणा राखेका थिए।
प्रकाशित: ९ भाद्र २०८३ १८:४५ मंगलबार





