२० भाद्र २०८३ शनिबार
image/svg+xml
राजनीति

ओस्लोमा रक्षा बमको सम्बोधन : हामी दान होइन, जलवायु न्याय र क्षतिपूर्ति मागिरहेका छौँ

जेनजी अभियन्ता रक्षा बमले नर्वेको ओस्लोमा आयोजित नोबेल पिस कन्फेरेन्समा नेपालले भोगिरहेको बाढीपहिरो र जलवायु संकटबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएकी छन्।

सम्मेलनमा जेनजी आन्दोलनबारे बोल्दै बमले केही दिनअघि नेपालका हिमाली तथा पहाडी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको बताइन्। उनले बाढीबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको, ४ हजारभन्दा बढी बेपत्ता रहेको तथा ६ हजारभन्दा बढी घरपरिवार प्रभावित भएको उल्लेख गरिन्। 

सम्मेलनमा उनले १७ हजारभन्दा बढी बालबालिका समेत प्रभावित भएको बताए। ‘म अहिले ओस्लोमा तपाईंहरूसामु उभिएर बोलिरहँदा पनि मेरो देशमा आएको विपद् अझै सकिएको छैन,’ उनले भनिन्।

नेपालमा विपद्का कारण परिवारले आफ्ना प्रियजनको शव प्राप्त गरिरहेको र कतिपय परिवार अझै बेपत्ता आफन्तको खोजीमा रहेको उल्लेख गर्दै उनले ओस्लोमा भइरहेको लोकतन्त्र र मानवताको भविष्यसम्बन्धी छलफल र नेपालले भोगिरहेको वास्तविकताबीच ठूलो दूरी रहेको बताइन्।

बमले जलवायु परिवर्तनका कारण हिमाल तथा हिमनदीहरू पग्लिरहेको भन्दै जलवायु न्यायको विषयलाई गम्भीरतापूर्वक लिन विश्व समुदायसँग आग्रह गरिन्।

‘कार्बनसँग पासपोर्ट हुँदैन। यो कुनै सीमामा रोकिन्न। हामी एउटै वायुमण्डल र एउटै आकाश साझा गर्छौँ,’ उनले भनिन्, ‘यदि हाम्रा कार्यका परिणामहरू सीमामा रोकिँदैनन् भने हाम्रा जिम्मेवारीहरू पनि सीमामा रोकिनु हुँदैन।’

जलवायु परिवर्तनमा ठूलो योगदान गर्ने मुलुकहरूले त्यसको असरबाट बढी प्रभावित नेपालजस्ता देशप्रति जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो। उनले नेपाललाई सहयोगको आवश्यकता रहे पनि त्यसलाई दानका रूपमा नहेर्न आग्रह गरिन्।

‘म दान मागिरहेकी छैन। हामी दान मागिरहेका छैनौँ। हामी न्याय र क्षतिपूर्ति मागिरहेका छौँ,’ बमले भनिन्।

उनले जलवायु न्यायलाई लोकतन्त्र र जवाफदेहितासँग जोड्दै लोकतन्त्र भनेको सबैभन्दा कमजोर र जोखिममा रहेका मानिसहरूको संरक्षण तथा जिम्मेवार पक्षलाई जवाफदेही बनाउनु पनि भएको बताइन्। जलवायु न्यायबिना शान्ति र लोकतान्त्रिक न्याय सम्भव नहुने उनको तर्क थियो।

प्रकाशित: २० भाद्र २०८३ ११:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App