१७ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

एमाले सांसदको प्रश्न : आ’न्दोलनमा ज’लेका निजी सम्पत्तिको जिम्मेवारी कसले लिने ?

नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले पोखरा विश्वविद्यालयमा रहेको बेरियर सिस्टमका कारण एउटा विषयमा अनुत्तीर्ण हुँदा धेरै विद्यार्थीको भविष्य प्रभावित भएको भन्दै उक्त व्यवस्था हटाउन सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले एउटा विषयमा फेल हुँदैमा विद्यार्थीको भविष्य नै अन्योलमा पर्ने अवस्था अन्त्य गर्नुपर्ने बताइन्। उनले यस विषयमा सम्बन्धित मन्त्रालय र पोखरा विश्वविद्यालयको ध्यानाकर्षण गराउँदै बेरियर सिस्टम हटाउन माग गरिन्।

त्यस्तै, उनले दशैं नजिकिँदै गर्दा जनताको घरमा चुलो बाल्ने अवस्था सुनिश्चित गर्न सरकारलाई आग्रह गरिन्। आगामी हिउँदे अधिवेशनमा पनि जनताको आधारभूत आवश्यकताका विषयमा सरकारलाई प्रश्न उठाउनुपर्ने अवस्था नआओस् भन्दै उनले शुभकामना व्यक्त गरिन्।

सांसद बरालले सहकारी समस्या समाधानका लागि सरकारले स्थापना गरेको चक्रिय कोषको विषय उठाउँदै जेनजी आन्दोलनका क्रममा जलेका निजी सम्पत्तिको क्षतिपूर्तिबारे पनि प्रश्न गरिन्।

उनले भाटभटेनीलगायतका व्यापारिक प्रतिष्ठान तथा अपार्टमेन्टहरूमा आगजनी हुँदा करिब ११ अर्ब रुपैयाँ बराबरको क्षति भएको उल्लेख गर्दै त्यसको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरिन्।

‘एउटा व्यक्तिबाट रकम असुल गर्न चक्रिय कोषका नाममा अर्बौं रुपैयाँ राज्यको कोषबाट खर्च भइरहेको छ। तर निर्दोष व्यापारीको अर्बौंको सम्पत्ति जल्दा त्यसको जिम्मेवारी कसले लिने ?’ उनले प्रश्न गरिन्।

उनले सहकारी पीडितको समस्या समाधानका लागि सरकारले चक्रिय कोषमार्फत गरेको व्यवस्थाजस्तै आगजनीबाट क्षति व्यहोरेका व्यवसायीका लागि पनि क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने धारणा राखिन्।

प्रकाशित: १६ आश्विन २०८३ १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App