१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

पूर्णबहादुर भन्छन्: कांग्रेस संवाद र सहमतिबाट मात्रै बलियो बन्छ

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र संवाद, सहमति र सम्पूर्ण एकता कायम गर्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन्।  

उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रवर्तक बीपी कोइरालाको राजनीतिक दर्शन वर्तमान परिस्थितिमा अझ सान्दर्भिक रहेको उल्लेख गर्दै कांग्रेसले बीपीको मार्गदर्शनलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन्।

बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै खड्काले बीपीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कांग्रेसभित्रको आन्तरिक मतभेद संवादबाट समाधान गर्नुपर्ने धारणा राखे। उनले पार्टीको एकता केवल व्यक्तिहरूलाई जोडेर सम्भव नहुने, विचार र सहमतिमा आधारित हुनुपर्ने बताए।

‘संवादमार्फत सहमतिको आधारमा नेपाली कांग्रेसमा सम्पूर्ण एकता कायम गर्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो,’ उनले भने, ‘व्यक्तिहरूलाई मात्र जोडेर बनाइएको एकताले बीपीले देखाउनुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको उचाइ हासिल गर्न सक्दैन। कांग्रेसभित्रको पूर्ण एकताले मात्रै नैतिक र भौतिक शक्ति निर्माण गर्छ।’

खड्काले कांग्रेसले बीपी कोइरालाको विचार र नीतिलाई त्यागेको निष्कर्ष निकाल्नु हतारो हुने बताए। कुनै एउटा राजनीतिक कालखण्ड वा रणनीतिलाई आधार बनाएर कांग्रेसले बीपीको मार्ग छोडेको भन्नु स्वयं बीपीप्रति अन्याय हुने उनको तर्क थियो।

‘कांग्रेसले बीपीको विचार छोड्यो भन्ने निष्कर्ष केवल कुनै एउटा कालखण्ड वा रणनीतिका आधारमा निकाल्यौं भने त्यो बीपीप्रति नै अन्याय हुन्छ,’ उनले भने।

खड्काले २०३३ सालको भन्दा अहिले नेपालको राष्ट्रियता झनै जटिल अवस्थामा पुगेको दाबी गर्दै देशको अस्तित्वसमेत चुनौतीपूर्ण मोडमा रहेको टिप्पणी गरे। यस्तो अवस्थामा कांग्रेसभित्रको बलियो एकताले मात्रै राष्ट्रिय राजनीतिक नेतृत्व गर्न सक्ने उनको भनाइ थियो।

‘अहिले नेपालको राष्ट्रियता सयौं गुणा बढी संकटमा छ। यस्तो अवस्थामा कांग्रेसभित्र संवाद, सहमति र सम्पूर्ण एकता अपरिहार्य छ,’ उनले भने।

खड्काले बीपी कोइरालाले आफ्नो सम्पूर्ण राजनीतिक जीवनभर संवाद, सहमति र राष्ट्रिय मेलमिलापको मार्ग अपनाएको स्मरण गरे। पार्टीभित्र, राजनीतिक दलहरूबीच र राष्ट्रवादी शक्तिहरूबीच सहकार्य आवश्यक रहेको सन्देश बीपीले जीवनको अन्तिम समयसम्म दिइरहेको उनले उल्लेख गरे।

उनका अनुसार बीपीको दूरदर्शिता, नेतृत्व क्षमता र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धताका कारण लामो समयसम्म नेपालको राजनीति उहाँकै वरिपरि केन्द्रित रह्यो। आज पनि कांग्रेसले त्यही राजनीतिक संस्कारलाई आत्मसात गर्नुपर्ने उनको धारणा थियो।

सम्बोधनका क्रममा खड्काले आफू कार्यवाहक सभापति भएदेखि निवर्तमान हुँदासम्मका विभिन्न राजनीतिक घटनाक्रमबारे अझै धेरै कुरा सार्वजनिक गर्न बाँकी रहेको पनि संकेत गरे।

उनले सर्वोच्च अदालतमा पार्टीसँग सम्बन्धित मुद्दा लड्दादेखि निर्वाचन आयोगमा नेताहरूसँग भएको उपस्थितिसम्मका विषयमा देश–विदेशमा रहेका कांग्रेस समर्थक र लोकतन्त्रवादी नागरिकलाई विस्तृत जानकारी दिनुपर्ने आवश्यकता रहेको बताए।

कार्यक्रममा कांग्रेसका नेता डा. शेखर कोइराला, प्रकाशशरण महत, एनपी साउँदलगायतले पनि बीपी कोइरालाको योगदान र वर्तमान राजनीतिक परिस्थितिबारे आफ्नो धारणा राखेका थिए।

प्रकाशित: ६ श्रावण २०८३ १८:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App