२८ भाद्र २०८३ आइतबार
image/svg+xml
राजनीति

बाढीबाट विस्थापित नागरिकलाई प्रदेश सरकारले एक्लो महसुस हुन दिन्‍न : मुख्यमन्त्री थापा

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाका बाढीबाट विस्थापित नागरिकलाई विपद्को कठिन घडीमा राज्यले एक्लो महसुस हुन नदिने बताएका छन्।

मुख्यमन्त्री थापा मगरले काठमाडौंस्थित घोसर (यल्लो) गुम्बामा आश्रय लिएर बसिरहेका रसुवाका बाढी प्रभावित १७५ घरधुरीका ५२० जना नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका पीडा, समस्या, गुनासा तथा तत्काल आवश्यकताबारे जानकारी लिएका हुन्।

विपद्का कारण घरबार, सम्पत्ति र जीवनयापनका आधार गुमाउनुपरेका नागरिकको पीडा केवल सुन्ने विषय नभई राज्यको जिम्मेवारी र साझा दायित्व भएको मुख्यमन्त्री थापा मगरले बताए। उनले प्रभावित परिवारलाई तत्काल आवश्यक राहत, सुरक्षित बसोबास, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक सेवाको सुनिश्चितता गर्न प्रदेश सरकारले प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मुख्यमन्त्री थापा मगरले तत्कालीन राहतमा मात्र सीमित नभई प्रभावित नागरिकको दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणलाई समेत प्राथमिकतामा राखेर प्रदेश सरकारले निरन्तर काम गर्ने बताए।

‘विपद्को घडीमा नागरिकलाई एक्लो महसुस हुन नदिने, पीडामा साथ दिने र आवश्यक सहयोग तथा समन्वयलाई प्रभावकारी बनाउने’ प्रदेश सरकारको स्पष्ट प्राथमिकता रहेको उनले प्रस्ट पारे।

रसुवामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवार विभिन्न स्थानमा आश्रय लिएर बसिरहेका छन्। यस्तो अवस्थामा विस्थापित परिवारको तत्कालीन आवश्यकता सम्बोधनसँगै सुरक्षित र सम्मानजनक पुनःस्थापनाका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको मुख्यमन्त्री थापा मगरले बताए।

उनले प्रभावित नागरिकको दुःखमा प्रदेश सरकार निरन्तर साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै राहत, पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाइने बताएका छन्।

विस्थापित परिवारको समस्या राहत वितरणमा मात्र सीमित नराखी सुरक्षित बसोबासदेखि दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणसम्म जोडेर अघि बढाउने उनको भनाइ छ।

मुख्यमन्त्री थापा मगरले प्रभावित परिवारको वास्तविक आवश्यकता र अवस्थाका आधारमा प्रदेश सरकारले आवश्यक सहयोग तथा समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले विपद्मा पीडित नागरिकको साथमा सरकार रहेको सन्देश दिँदै ‘दुःखमा साथ, विपद्मा सहयोग’ भन्ने भावनाका साथ प्रदेश सरकार प्रभावित नागरिकको पक्षमा निरन्तर क्रियाशील रहने बताएका छन्।

प्रकाशित: २८ भाद्र २०८३ ०६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App