१ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

उपलब्धि संस्थागत गर्ने महत्वपूर्ण आधार प्रदेश : उपाध्यक्ष भण्डारी

राष्ट्रिय सभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी र गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबीच आज भेटवार्ता भएको छ। उपाध्यक्ष भण्डारी र प्रदेश प्रमुख भट्टबीच सोमबार पोखरामा भेटवार्ता भएको हो।

प्रदेश प्रमुखको कार्यालय पोखरामा भएको भेटवार्तामा राष्ट्रिय सभाका उपाध्यक्ष भण्डारीले संघीयताको महत्वपूर्ण आधारका रुपमा रहेको प्रदेशको कामकारवाहीबारे चासो राखेकी थिइन्। मुलुकमा प्राप्त उपलब्धि संस्थागत गर्ने आधार प्रदेश भएको र यसको सफलता नै संघीयता र लोकतान्त्रिक गणतन्त्रको सफलताको मापन भएको बताइन्। 

उपाध्यक्ष भण्डारीलाई उदृत गर्दै प्रदेश प्रमुखको सचिवालयले पठाएको प्रेस नोटमा भनिएको छ, ‘मुलुकमा प्राप्त उपलब्धिलाई संस्थागत गर्ने महत्वपूर्ण आधार प्रदेश हो। प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो।’

उपाध्यक्ष भण्डारीले व्यवस्था सुदृढ हुनका लागि प्रदेशहरू सुदृढ हुनुपने बताइन्। संविधानको पूर्ण कार्यान्वयन हुनका लागि संघीय, प्रादेशिक कर, स्थानीय तहका कानुनको तर्जुमा र त्यसको कार्यान्वयनबाट सम्भव हुने उनको भनाइ थियो। उनले भनिन्, ‘प्रदेश प्रमुख प्रदेशको प्रमुख मात्र नभई संघको प्रतिनिधि हुनुको साथै संघ र प्रदेशबीचको समन्वयकर्ता पनि हो।’

सो अवसरमा प्रदेश प्रमुख भट्टले संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा निर्विरोध निर्वाचित भएकोमा उपाध्यक्ष भण्डारीलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए। उनले संघ र प्रदेशबीचको समन्वय तथा सहकार्यमा जोड दिदै प्रदेशमा कानुन निर्माण प्रक्रिया तथा त्यसको कार्यान्वयन, नीति निर्माणसँग सम्बन्धित विषयहरू जानकारी गराएका थिए।

प्रकाशित: १४ वैशाख २०८३ १६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App