१६ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीको सम्बोधनका क्रममा विरोध

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सम्बोधन गर्ने क्रममा  कार्यकर्ताले विरोध जनाएका छन्।  

महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले लोकतन्त्रको सुदृढीकरणका लागि संसद्, न्यायपालिका, राष्ट्रपति संस्था तथा आलोचनात्मक आवाजहरू बलियो हुनुपर्ने बताएका थिए ।  उनले लोकतन्त्र नियन्त्रण र सन्तुलनको व्यवस्थामा आधारित हुने भन्दै कुनै पनि संस्था कमजोर भए लोकतान्त्रिक प्रणाली नै कमजोर बन्ने बताए। 

‘यदि संसद् कमजोर भयो, न्यायालय कमजोर भयो, राष्ट्रपति संस्था कमजोर भयो र आलोचनाका स्वर दबाइए भने लोकतन्त्र कमजोर हुन्छ,’ उनले भने। 

उनले पारदर्शिता, जवाफदेहिता र स्वस्थ आलोचनाको संस्कार लोकतन्त्रका आधारस्तम्भ भएको भन्दै रास्वपाले आगामी दिनमा लोकतान्त्रिक मूल्य र मान्यतालाई थप बलियो बनाउने बताए। 

उनले लोकतन्त्रलाई गाडीसँग तुलना गर्दै एक्सेलेटर र ब्रेक दुवैको सन्तुलन आवश्यक हुने बताए। ‘गाडीमा एक्सेलेटर र ब्रेक दुवै हुन्छन्। केवल एक्सेलेटर मात्रै प्रयोग गरियो भने दुर्घटना हुन सक्छ। त्यसैले सन्तुलन कायम गर्दै अघि बढ्नुपर्छ,’ उनले भने। 

ज्ञवालीको सम्बोधनका क्रममा सभाहलमा उपस्थित केही रास्वपा कार्यकर्ताले नाराबाजीसहित विरोध जनाएका थिए। विरोधका बाबजुद उनले आफ्नो सम्बोधन जारी राखेका थिए।   

प्रकाशित: ७ असार २०८३ १७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App