नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारहरूले भड्किलो र तडकभडकपूर्ण प्रचारप्रसार गर्न नपाउने भएका छन्। केन्द्रीय निर्वाचन समितिले विपद्पछिको राष्ट्रिय संवेदनशीलतालाई ध्यानमा राख्दै उम्मेदवारका लागि थप तथा कडा निर्वाचन आचारसंहिता लागू गरेको हो।
समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन विभिन्न प्रकारका प्रचार अभियानमा रोक लगाइएको बताएका छन्।
महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेटलगायत कुनै पनि प्रकारका छापिएका प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पूर्ण रूपमा निषेध गर्ने आचारसंहितामा उल्लेख छ।
साथै महाधिवेशन स्थलको बाहिरी परिसर, सार्वजनिक सडक तथा आसपासका क्षेत्रमा समेत कुनै पनि प्रकृतिका भौतिक प्रचार सामग्री राख्न वा प्रदर्शन गर्न नपाइने समितिले जनाएको छ।
उम्मेदवारहरूले आफ्ना एजेन्डा तथा उम्मेदवारीसम्बन्धी विवरण भने डिजिटल माध्यमबाट मात्रै सम्प्रेषण गर्न पाउने भएका छन्। सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यमबाट प्रचारप्रसार गर्न अनुमति दिइएको समितिले जनाएको छ।
यस्तो संवेदनशील अवस्थामा हुन लागेको महाधिवेशनले पार्टीको नीति निर्माणसँगै आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएकाले राष्ट्रिय संवेदना र वातावरणीय पक्षलाई ध्यानमा राखेर आचारसंहिता लागू गरिएको समितिले जनाएको छ।
समितिले आचारसंहिताको पूर्ण पालना गरी १५औँ महाधिवेशनलाई अनुशासित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न अपिल गरेको छ।

प्रकाशित: १६ आश्विन २०८३ १५:२८ शुक्रबार





