नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति तथ्यहीन, अल्पज्ञानपूर्ण तथा राष्ट्रहितविपरीत रहेको बताएका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले प्रधानमन्त्री शाहले जानकारी बिना नेपालको भूमि भारतले मिचेको विषय उठाएको भन्दै त्यसले नेपालको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पार्ने बताए। उनले राष्ट्रियता र विकासप्रति प्रतिबद्ध नेतृत्वले संवेदनशील विषयमा तथ्य र प्रमाणका आधारमा मात्रै धारणा राख्नुपर्ने बताए।
बस्नेतले लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रबारे नेपालले विगतमा नयाँ नक्सा जारी गरी आफ्नो दाबी अन्तर्राष्ट्रिय रूपमा स्थापित गरिसकेको भन्दै सीमा सम्बन्धी विषयलाई राजनीतिक विवादको माध्यम बनाउनुभन्दा कूटनीतिक संवाद र औपचारिक प्रक्रियामार्फत समाधान खोजिनुपर्ने बताए।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रतिपक्षी दलहरू समेत असन्तुष्ट रहेको भन्दै उक्त अभिव्यक्तिमा प्रधानमन्त्रीले स्पष्टिकरण दिनुका साथै आवश्यक परे माफी माग्नुपर्ने माग उठ्नु स्वाभाविक भएको बताए।
प्रकाशित: २० जेष्ठ २०८३ १७:२१ बुधबार





