प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा बाढी आउनुअघि प्रभावित क्षेत्रमा करिब ११ लाख एसएमएस तथा टेलिफोन कलमार्फत पूर्वसूचना दिइएको दाबी गरेका छन्।
बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले बाढीको पूर्वसूचना समयमै नदिएको भन्ने प्रश्नको जवाफ दिँदै सूचना पाएलगत्तै स्थानीयलाई सतर्क गराइएको बताएका हुन्। उनका अनुसार प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित स्थानतर्फ जान आग्रह गर्न सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यस क्रममा केही सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएको उनले जानकारी गराएका छन्।
‘नेपाल सरकारबाट करिब ११ लाख एसएमएस र टेलिफोन कल गरिएको थियो र त्यसको सूचना आधा घण्टा अगाडि नै त्यहाँ बस्नु भएका सम्पूर्णलाई दिइएको थियो,’ उनले भने।
शाहले ठुलो विपद्का बेला अन्तर्राष्ट्रिय सहयोग लिन सरकारले सुरुदेखि नै पहल गरेको पनि बताए। उनका अनुसार भारत र चीनबाट प्राविधिक टोली प्रभावित क्षेत्रमा पठाइएको थियो। ती टोलीले सुरुवाती दिनमै हवाई माध्यमबाट प्रभावित क्षेत्रको अवस्था अध्ययन गरे पनि तत्काल घटनास्थलमा पुग्न सक्ने अवस्था नरहेको उनले बताए।
‘जुन बेला ओर्लिन सकिने अवस्था भयो, त्यतिबेला मात्रै भारत र चीनका प्राविधिक नेपाली प्राविधिक तथा सुरक्षाकर्मीसँगै त्यहाँ पुगेका हुन्,’ उनले थप भने। प्रभावित क्षेत्रमा अत्याधिक हिलो र लेदो भएकाले उद्धारमा खटिएका सुरक्षाकर्मी र मेसिनसमेत अडिन कठिन भएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्। टनेलभित्र पसेको हिलो र लेदो हटाउने काम सामान्य पहिरो हटाउनेभन्दा फरक रहेको उनको भनाइ छ।
सुरक्षित ठाउँ नबनेसम्म एकैपटक धेरै एक्स्काभेटर प्रयोग गर्न नसकिने उनले बताए। टनेलभित्र बाढीसँगै हिलो र माटो भरिएकाले उद्धारका लागि मौसम, जमिनको अवस्था र मेसिन अड्याउन सकिने ठाउँको समेत ख्याल गर्नुपर्ने अवस्था रहेको उनले स्पष्ट पारे।
प्रधानमन्त्री शाहले उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको कामको आलोचना गर्नुभन्दा उनीहरूलाई हौसला दिन आग्रह गरे। भोटेकोशी बाढी आएको एक सातापछि पनि उद्धार तथा खोजी कार्य जारी रहेको जानकारी उनले गराएका छन्।
प्रकाशित: १७ भाद्र २०८३ १४:२७ बुधबार





