नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग सदस्य विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाहको विदेश भ्रमणका क्रममा देखिएको व्यवहारप्रति टिप्पणी गरेका छन्।
राष्ट्रको प्रतिनिधित्व गर्दै विदेश जाँदा नेताहरूले आफ्नो व्यवहारबाट देशका नागरिकमा पर्ने प्रभावबारे सधैँ ध्यान दिनुपर्ने उनको भनाइ छ।
सामाजिक सञ्जालमार्फत रिजालले सन् १९६६ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको पहिलो अमेरिका भ्रमणको प्रसंग उल्लेख गरेका छन्।
उनले तत्कालीन अमेरिकी राष्ट्रपति लिन्डन जोन्सनले ह्वाइट हाउसमा आयोजना गरेको रात्रिभोजका क्रममा इन्दिरा गान्धीलाई नृत्यका लागि प्रस्ताव गरेका थिए। तर, उनले ‘अहो, मेरा जनताले के सोच्छन् ? भन्दै प्रस्ताव अस्वीकार गरेकी थिइन्।
रिजालले इन्दिरा गान्धी आधुनिक विचारकी, पश्चिममा अध्ययन गरेकी र पारिवारिक असहमतिका बाबजुद पारसी फिरोज जहागिरसँग प्रेम विवाह गरेकी महिला भए पनि राष्ट्रप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिएको उल्लेख गरेका छन्।
उनले केही वर्षअघि पढेको इन्दर मल्होत्राको पुस्तक 'इन्दिरा गान्धी : अ पर्सनल एन्ड पोलिटिकल बायोग्राफी' मा उक्त प्रसंग विस्तृत रूपमा उल्लेख गरिएको बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको ध्यान आफ्नै देशका नागरिकले के सोच्छन् भन्नेमा भन्दा अरूको मन जित्नमा केन्द्रित भएको रिजालले टिप्पणी गरेका छन्।
उनले लेखेका छन्:
राष्ट्रको प्रतिनिधित्व गर्दै विदेश जाँदा नेताले प्रदर्शन गर्ने व्यवहारबाट आफ्नो देशका नागरिकले के सोच्छन् भन्ने कुरा हरदम ध्यानमा राख्नुपर्छ।
घटना १९६६ को हो।
भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी पहिलो पटक अमेरिकाको भ्रमणमा गएकी थिइन्। त्यहाँका राष्ट्रपति लिन्डन जोन्सनले ह्वाइट हाउसमा भव्य रात्रिभोज दिएपछि नाच्नका लागि प्रस्ताव गरे।
इन्दिरा गान्धी आधुनिक विचारकी थिइन्, पश्चिममै पढेकी थिइन्, बुबा जवारलाल नेहरुको अनिच्छाका बाबजुद पार्सी फिरोज जहागिरसँग प्रेम विवाह गरेकी थिइन्। उनलाई नाँच्न नआउने कुरै थिएन।
तर, उनले फ्याट्ट भनिन्, अहो, मेरा जनताले के सोच्छन् ? (Oh! What would my people think!)
उनले राष्ट्रपति जोन्सनको प्रस्ताव अस्वीकार गरिन्।
मैले केही बर्षअघि पढेको पुस्तक 'इन्दिरा गान्धीः अ पर्सनल एन्ड पोलिटिकल बायोग्राफी'मा इन्दर मल्होत्राले यसका बारेमा विस्तृत उल्लेख गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको ध्यान अरुको मन जित्नमा खर्च भयो, आफ्ना देशका नागरिकले के सोच्छन् भन्नेमा होइन।
विवादित विषयलाई थाँती राखेर गरिएका चिल्ला कुराको परिणाम चिल्लो आउँदैन।
प्रकाशित: १० मंसिर २०८३ ०८:११ बिहीबार





