२५ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको तयारी पूरा

कोशी प्रदेशको राजधानी विराटनगरमा असोज २७ र २८ गते आयोजना हुने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको तयारी पूरा भएको छ। अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन २०८३ को सचिवालयले आइतबार पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउँदै प्रदेशहरूबीच आपसी सहयोग र साझेदारी सुदृढ गर्ने उद्देश्यले आयोजना गर्न लागिएको जानकारी दिए।

मुख्यमन्त्री कार्कीले सम्मेलनबाट प्राप्त निष्कर्ष तथा साझा प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन, अनुगमन र निरन्तरताका लागि अन्तरप्रदेश समन्वय र साझेदारीलाई संस्थागत गर्ने विषयमा छलफल केन्द्रित हुने बताए। विभिन्न प्रदेशहरूले गरिरहेका अभ्यास र अनुभव आदानप्रदान गर्नु पनि सम्मेलनको उद्देश्य रहेको उनले जानकारी दिए।

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तथा एजेन्डा तयारी समितिका संयोजक तारानाथ निरौलाले सम्मेलनको सबै तयारी पूरा भइसकेको बताए। उनले सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिवहरूको सहभागिता रहने जानकारी दिए।

प्रकाशित: २५ आश्विन २०८३ १६:०२ आइतबार