१५ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

भोटेकोशी बाढीको छैटौं दिन : ११,३७९ को उद्धार, ९३९ शव फेला, कोषमा ५ अर्ब ८७ करोड संकलन

प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ३७९ जना नागरिकको सकुशल उद्धार गरिएको जानकारी दिएका छन्।

विपद्को छैटौं दिन सोमबार सामाजिक सञ्जालमार्फत वस्तुस्थिति सार्वजनिक गर्दै उनले बाढीमा ज्यान गुमाएका ९३९ जनाको शव फेला परेको र ३ हजार ९२५ जना अझै सम्पर्कविहीन रहेको बताएका छन्। सम्पर्कविहीन हुनेहरूको संख्या भने लगातार घटबढ भइरहेको छ।

प्रभावित क्षेत्रबाट उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २७९ जना घाइते नागरिकहरूमध्ये हालसम्म १६८ जना डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार जारी छ।

बाढी प्रभावित क्षेत्रको वस्तुस्थितिबारे प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रमुखहरूसँग नियमित ब्रिफिङ लिनुका साथै कार्यक्षेत्रमा खटिएका मन्त्री र सांसदहरूबाट समेत निरन्तर विवरण लिइरहेका छन्।

पारदर्शिताका लागि ‘उद्धार अनुरोध पोर्टल’ मार्फत आर्थिक सहयोगको विवरण सार्वजनिक गरिएको जनाउँदै प्रधानमन्त्री राहत कोषमा सोमबार मध्याह्नसम्म ९ वटा वाणिज्य बैंकका खाताहरूमा कुल ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ।

यस्तै, हिमालयन र लक्ष्मी बैंकका खाताहरूमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर संकलन भएको छ।

राहत व्यवस्थापनतर्फ रसुवा, नुवाकोट र धादिङका ४ वटा संकलन केन्द्रबाट रसुवा र नुवाकोटका २७ वटा वितरण केन्द्रमार्फत हालसम्म ३ हजार ६९६ जना प्रभावित नागरिकलाई राहत सामग्री वितरण गरिएको छ।

राहत वितरण प्रभावकारी बनाउन प्रधानमन्त्रीको सचिवालयका सदस्य र कर्मचारीहरू समेत फिल्डमै खटिएका छन् भने यस कार्यमा भारत, चीन, अमेरिका, युएई, कतार, जापान, स्विट्जरल्यान्ड र अस्ट्रेलियालगायतका मित्रराष्ट्रहरूबाट सहायता प्राप्त भइसकेको छ।

सडक पूर्वाधारतर्फ गल्छी–त्रिशूली राजमार्गअन्तर्गत नदीको दायाँ किनार (कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी) हुँदै त्रिशूली बजारसम्मको सडक सञ्चालनमा आएसँगै नुवाकोटको त्रिशूलीपारिको भूभाग पुनः सडक सञ्जालमा जोडिएको छ।

भत्किएका पुलहरूको विकल्पमा देवीघाटको तादी नदी, त्रिशूली बजार र बेत्रावती बजार गरी तीन स्थानमा बेलीब्रिज राख्ने अध्ययन पूरा भएको छ।

हाल मौजुदा रहेका ४८ मिटरका ६ र ७० मिटरको १ थान बेलीब्रिजका अतिरिक्त भारतबाट २३० फिटको मोडुलर स्टिल ब्रिज प्राप्त भएको छ भने भारतले थप ७ वटा र चीनले ३० वटा बेलीब्रिज छिट्टै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

नेपाली सेनाले विभिन्न जलविद्युत् परियोजनाहरूबाट मात्रै हालसम्म २७९ जनाको उद्धार गरेको छ। जसअन्तर्गत माथिल्लो त्रिशूली-१ बाट २५४ जनाको उद्धार गरिएको छ र सुरुङभित्र नेपाली सेना, कोरियन र चिनियाँ टोलीले खोजी जारी राखेका छन्।

रसुवागढीबाट २ जनाको उद्धार भएकोमा सुरुङभित्र खोजी गर्दा मानिस नभेटिएपछि टोली फर्किएको छ भने लाङटाङ खोला र चिलिमेमा सेना, भारतीय टोली र सहयोगीहरूले सुरुङको मुख खोल्ने काम गरिरहेका छन्।

यस्तै, मैलुङ खोलाबाट ९ जना, त्रिशूलीबाट ३ जना, सौर्य आयोजनाबाट ४ जना र देवीघाटबाट ४ जनाको उद्धार गरिएको छ। माथिल्लो त्रिशूली-३ ‘ए’ को सुरुङमा ९० जनाको संयुक्त टोली र विद्युत् प्राधिकरणले खोज तथा उद्धार तीव्र पारेको छ भने माथिल्लो त्रिशूली-३ ‘बी’ बाट २ जनाको उद्धार गरी थप ९ जनासहित ३१ जना सैनिक परिचालन गरेर खोजी अघि बढाइएको छ।

विद्युत् सेवातर्फ रसुवामा कालिकास्थान, नौकुण्ड, गोसाइँकुण्ड र सदरमुकाम धुन्चेसहित करिब ३० प्रतिशत क्षेत्रमा बिजुली पुगेको छ।

आमाछोदिङ्गोमा सान्जेन आयोजनाबाट बिजुली बाल्ने तयारी भइरहेको छ भने ५०० थान पोर्टेबल सोलार पठाइएको छ। नुवाकोटमा ८५ प्रतिशत विद्युत् पुनःस्थापना भइसकेको र बाँकी १५ प्रतिशतमा आगामी ५ दिनभित्र सेवा पुर्‍याइनेछ भने धादिङमा राजमार्ग आसपास ९८ प्रतिशत विद्युत् सुचारु भइसकेको छ।

सञ्चारतर्फ नेपाल टेलिकमका १२० मध्ये ११० र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका छन्।

बाढीका कारण ज्यान गुमाएका ९३९ जनामध्ये पहिचान भएका शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान नभएका शवहरूलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम डीएनए र अन्य प्रमाण सुरक्षित राखेर वैज्ञानिक रूपमा जमिनमुनि व्यवस्थापन थालिएको छ।

प्रधानमन्त्री शाहले यो विपद् हिमालय क्षेत्रमा हिउँ-चट्टानको हिमपहिरोबाट सिर्जित जलवायु परिवर्तनको गम्भीर असर भएको उल्लेख गर्दै यस विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा बलियो रूपमा उठाइने बताएका छन्।

उनले नागरिकको मानसिक र शारीरिक पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउँदै सरकार निरन्तर अभिभावक बनेर खटिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: १५ भाद्र २०८३ २०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App