२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

हिँड्दै पाइला मेट्दै प्रचण्ड: २०७९ मा जितेको गोरखा–२ पनि छाड्ने!

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका थिए। नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धनको सहयोगमा दाहालले २६ हजार १०३ मत सहित जित निकाल्दा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कवीन्द्र बुर्लाकोटीले १२ हजार ३३६ मतसहित दोस्रो भएका थिए। 

तर, फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचन भए प्रचण्ड त्यो क्षेत्रबाट नलड्ने लगभग पक्कापक्की भएको छ। जसको छनक पार्टीको उम्मेदवार सिफारिसमै देखिएको छ। 

नेकपा गोरखाले बिहीबार केन्द्रीय समितिमा उम्मेदवार सिफारिस गर्दा गोरखा–२ बाट प्रचण्डको नाम सिफारिस गरेको छैन। बरु उक्त क्षेत्रमा अर्का नेता नारायणकाजी श्रेष्ठको नाम सिफारिसमा परेको छ। श्रेष्ठबाहेक लेखनाथ न्यौपाने, हितराज पाण्डे, सानुमाया बस्नेत र अनीश अर्यालको पनि गोरखा–२ बाटै नाम उम्मेदवारीमा नाम सिफारिसमा परेको छ। 

नेकपा गोरखाले प्रचण्डलाई अर्को १ नम्बर क्षेत्रबाट भने नाम सिफारिस गरेको छ। जहाँ उनीबाहेक हरिराज अधिकारी, जगन्नाथ खनाल, शोभा लामिछाने र सागर श्रेष्ठको नाम पनि सिफारिस भएको छ। 

प्रचण्डले गोरखा–२ मा चुनाव लड्न नचाहेकैले उनको नाम त्यहाँबाट सिफारिस नभएको पार्टीका एक नेताले बताए। ‘संयोजक कमरेडले त्यहाँ दोहोर्‍याएर लड्न चाहे नामै सिफारिस नहुने भन्ने हुन्छ र?,’ ती नेताले प्रश्न गरे। 

अर्थात्, प्रचण्डले आफ्नो विगतको सिलसिलालाई निरन्तरता दिएका छन्। जसलाई कतिपयले नेपाली उखान, ‘हिँड्दै छ, पाइला मेट्दै छ’सँग जोडेर टिप्पणी गर्छन्। निर्वाचन क्षेत्र फेरि फेरि हिँड्ने लामो सिलसिलाकै कारण आलोचकहरूले त्यो उखानसँग प्रचण्डलाई जोड्ने गर्छन्। 

२०६४को पहिलो संविधानसभा निर्वाचनमा प्रचण्ड काठमाडौं–१० र रोल्पा–२ बाट निर्वाचन लडेका थिए। उनी दुवै क्षेत्रमा जिते। त्यसपछि २०७० मा दोस्रो पटक भएको संविधान सभा निर्वाचनमा काठमाडौं–१० मा पनि लडेका थिए। उनी दोहोर्‍याएर निर्वाचन लडेको यही एक क्षेत्र मात्रै हो। जहाँ नेपाली कांग्रेसका राजेन्द्र केसीसँग पराजित हुनपुगे। 

सोही निर्वाचनमा उनी सिराहा–३ बाट पनि लडेका थिए। जहाँ उनी झिनो मतान्तरले जिते। यद्यपि प्रचण्डको त्यो जितमाथि प्रश्न उठाउनेहरू पनि थिए/छन्। 

अर्को चुनावमा प्रचण्ड फेरि सिराहा फर्किएनन्। २०७४ स्थानीय तह निर्वाचनमा उनले कांग्रेससँग गठबन्धन गरेर गृह जिल्ला चितवनको भरतपुर महानगरमा छोरी रेनु दाहाललाई मेयर जिताएका थिए। त्यसको जग बनिहाल्यो। लगत्तै संसदीय निर्वाचनसम्म आइपुग्दा भविष्यमा पार्टी एकतासम्म गर्ने गरी नेकपा एमालेसँग वाम गठबन्धन गरे। 

त्यही गठबन्धनको जगमा चितवन–३ मा घर बलियो पार्दै प्रतिनिधिसभा चुनाव भिडे र जिते पनि। तर, २०७९ सम्म आइपुग्दा दाहालका लागि चितवनको घर पनि सुरक्षित रहेन्। सम्भावित हारबाट बच्न उनी सुरक्षित स्थान खोज्दै गोरखा–२ पुगेका थिए। 

गोरखा–२ पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईको निर्वाचन क्षेत्र थियो। २०६४ यता २०७४ सम्मका सबै चुनाव उनैले जितेका थिए। २०७९ मा भने उनी प्रचण्डका लागि ठाउँ खाली गरिदिन राजी भए। त्यसको बदलामा बाबुरामले छोरी मानुषी यमीलाई काठमाडौं–७ मा तत्कालीन नेकपा माओवादी केन्द्रको चुनाव चिन्हमा लडाएका थिए। जसमा कांग्रेस र तत्कालीन नेकपा एकीकृत समाजवादीले समेत सघाएको थियो। तर, मानुषी चुनाव जित्न सकिनन्। 

उता कांग्रेस, एकीकृत समाजवादी र बाबुरामसमेतको सहयोगमा प्रचण्ड भने जितेका थिए। त्यो बेला बाबुरामसँग प्रचण्डले पार्टी एकतासम्मको आश्वासन दिएका थिए। 

जितको खुसी सहयात्रीहरूसँग नबाँड्दै प्रचण्ड कांग्रेसदेखि बाबुरामसमेतलाई जिल्ल पारेर एमाले र रास्वपासँग सहयात्रा गर्दै प्रधानमन्त्री पद पड्काएर हिँडे। बाबुरामसँग थप सम्बन्ध गाँस्नेतिर उनी लागेनन्। बरु बाबुरामकै पार्टीमा रहेका महिन्द्र राय यादवसहितका नेतालाई भड्काएर उनकै पार्टी फुटाइदिए। त्यसयता बाबुराम प्रचण्डसँग क्रुद्ध छन्। 

अहिले गोरखा–२ मा बाबुराम आफै निर्वाचन लड्न इच्छुक छन्। सँगै कांग्रेसले पनि नसघाउने पक्का छ। रास्वपाकै महामन्त्री बुर्लाकोटीले उति बेलै धेरै मत ल्याएका थिए। 

यी तमाम चुनौती देखेपछि प्रचण्डले गोरखा–२ सुरक्षित नदेखेपछि विकल्पको खोजीमा लागेको पार्टी स्रोत बताउँछ। तर, कहाँ? त्यो भने निर्णय गरिसकेका छैनन्। 

कहाँ कहाँबाट सिफारिस 

नेकपाको उम्मेदवार सिफारिसको क्रम शुक्रबारसम्म पनि चलिरहेको स्रोत बताउँछ। हालसम्म गोरखा–१ बाट नुवाकोट–१, सिन्धुली–२, रामेछाप, महोत्तरी–४ बाट दाहालको नाम सिफारिस भएको छ। 

यस्तै रोल्पा, रुकुम पूर्व र कैलाली–३ बाट पनि दाहालको नाम सिफारिस भएको पार्टी स्रोतले बतायो। यस्तै काभ्रेपलान्चोक र कास्की–१ बाट पनि प्रचण्डको नाम सिफारिस हुने सम्भावना छ। 

प्रचण्डको सम्भावित रोजाइ नुवाकोट–१ र सिन्धुली–२ मध्ये एक हुनसक्ने बताइन्छ। दुवै क्षेत्र ०७९ मा माओवादी केन्द्रले जितेको थियो। नुवाकोट–१ मा हालका नेकपा नेता हितमान तामाङ जितेका थिए भने सिन्धुली–२ मा राजन दाहाल जितेका थिए। नुवाकोट भन्दा सिन्धुलीको जित फराकिलो थियो।

यसबाहेक मधेस प्रदेशमा पछिल्लो पटक पार्टीका पक्षमा देखिएको लहरबाट प्रचण्ड आशावादी देखिन्छन्। कहीँ सम्भव नदेखिए उनी आधार क्षेत्र खोज्दै रोल्पा–रुकुमसम्म पुग्न सक्ने नेकपामा अड्कलबाजी भइरहेको छ। दाहालले चुनावमा जाँदा अहिले पनि गठबन्धन गर्न सक्ने सम्भावना खोजेर प्रयासरत छन्। 

प्रकाशित: ११ पुस २०८२ १९:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App