राजनीतिक विश्लेषक मुमाराम खनालले परराष्ट्र मामिलामा आफ्ना कुरा प्रष्ट राख्नसक्ने हैसियतका नेता नेपालका समकालीन नेतामध्ये केपी शर्मा ओलीमा मात्र रहेकाे टिप्पणी गरेका छन्।
प्रधानमन्त्री ओली चीन भ्रमणमा रहँदा भारत र चीनले लिपुलेक नाकाबाट व्यापार गर्न गरेको सहमतिविरूद्ध खुलस्त रूपमा नेपालको धारणा राखेकाे कुरालाई उल्लेख गर्दै खनालले सामाजिक सञ्जालमार्फत यस्तो तर्क गरेका हुन्।
उनले एक्समा लेखेका छन्, ‘प्रम ओलीप्रति थुप्रै आलोचनाहरू छन्, तर कांग्रेस र माओवादीका सामयिक नेताहरूमध्ये विदेशी मामिलामा आफ्ना कुरा प्रष्ट राख्न सक्ने हैसियतका नेता केपी ओली नै हुन्।’
एससिओ सम्मेलनमा भाग लिन शनिबार चीन पुगेका ओलीले चीन र भारतका राष्ट्र प्रमुखसँगको भेटमा सीमाको कुरा उठाएका थिए। चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा ओलीले स्पष्ट रूपमा आपत्ति प्रकट गरेका थिए। ओलीले लिएको अडानको नेपालमा तारिफ भइरहेको छ।
तर भारत र चीनले यसबारे खुलेर कुनै प्रतिक्रिया भने जनाएका छैनन्।
प्रकाशित: १७ भाद्र २०८२ १३:५९ मंगलबार





