नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले व्यक्तिपूजाप्रति प्रश्न उठाउँदै मानिसको महानताको सम्मान गर्नुपर्नेमा उसैलाई भगवान् ठान्ने प्रवृत्तिले सत्यको खोजी र विवेकलाई कमजोर बनाउने बताएका छन्।
सामाजिक सञ्जालमार्फत भण्डारीले यस्तो बताएका हुन्। उनले मानिस भगवान् बन्न सक्छ कि सक्दैन भन्ने बहसको विषय भए पनि महान् बन्न सक्ने बताए।
उनले आफूलाई भगवान् ठान्ने र अरूले भगवान् बनाइदिनेहरूको कहिल्यै कमी नहुने उल्लेख गरेका छन्। भगवान् बन्न खोज्नेहरू नै आपसमा द्वन्द्व गर्ने र फेरि शान्तिको कामना गर्ने प्रवृत्तिलाई उनले विडम्बनाका रूपमा चित्रण गरेका छन्।
'दिमागले खोज्ने फरक धार! मानिस भगवान् बन्न सक्छ कि सक्दैन, बहसको विषय बनेको छ। तर मानिस महान् बन्न सक्छ, यो सत्य हो। आफूलाई भगवान् ठान्ने र अरूले भगवान बनाइदिनेहरूको लामको कहिल्यै कमी हुँदैन,' उनले भनेका छन्, 'विडम्बना! भगवान् बन्न खोज्नेहरू नै आपसमा द्वन्द्व गर्छन्, अनि शान्तिको कामना गर्छन्।'
भण्डारीले व्यक्तिपूजाले सत्यलाई छोप्ने, विवेकलाई कमजोर बनाउने तथा ध्यान र चिन्तनको बाटो अवरुद्ध गर्ने बताएका छन्।
'व्यक्तिपूजाले सत्यलाई छोप्छ, विवेकलाई कमजोर बनाउँछ र ध्यान तथा चिन्तनको बाटो अवरुद्ध गर्छ,' उनले प्रश्न गरे, 'जब मानिसको महानताको सम्मान गर्नुको सट्टा उसैलाई भगवान ठान्न थालिन्छ, तब सत्यको दर्शन कसरी हुन्छ? अनि भगवानको वास्तविक स्वरूप कसरी चिन्ने?'
प्रकाशित: ३० कार्तिक २०८३ ०८:१५ सोमबार





