नेपाली कांग्रेसका नेता महेश आचार्यले विचारका पछि नभई गुटका पछि दगुर्ने क्रमले पार्टी सङ्गठन कमजोर बन्ने गरेको बताएका छन्।
बिपी कोइलालाको ४३औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित कार्यक्रममा नेता आचार्यले पछिल्लो समयमा विचारका पछि नभई गुटका पछि दगुर्ने प्रवृत्ति बढिरहेको बताएका हुन्।
गुटप्रतिको दासत्वले कांग्रेस गाँजिएको बताउँदै उनले त्यसबाट माथि उठ्नु जरुरी रहेको धारणा राखे।
बिपीका निष्ठा, समर्पणबाट वर्तमानमा धेरै सिक्न सकिने बताउँदै नेता आचार्यले सत्ताको मात्रै खेल हुँदा त्यसले देशमा दुर्गति निम्त्याउने जिकिर गरे।
प्रजातन्त्र नभई राष्ट्रियता बलियो नहुने उल्लेख गर्दै उनले बिपीले देश र जनताका लागि ठूलो बलिदानी गरेको सुनाए। पछिल्लो समयमा आर्थिक क्षेत्रमा देखिएको गतिहीनताले निराशा छाएको र सुशासनसँगै देशभित्र रोजगारीको सिर्जनालगायतका कुरामा ध्यान दिनु जरुरी भएको उनले धारणा राखे।
प्रकाशित: ६ श्रावण २०८२ १७:३३ मंगलबार





