नेपाली कांग्रेसको राष्ट्रिय भेला आयोजक समितिले पूर्वमहामन्त्री डा शशांक कोइरालाको संयोजकत्वमा हुन गइरहेको पार्टीको राष्ट्रिय भेला स्थगित नभएको प्रस्टीकरण दिएको छ।
आयोजक समितिका संयोजक डा. कोइरालाको नाममा कार्यक्रम स्थगित भएको भन्दै एक विज्ञप्ति सामाजिक सञ्जालमा भाइरल भएपछि आयोजक समितिले सो को खण्डन गरेको हो। आयोजक समिति अन्तरगतको प्रचारप्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले भेला स्थगितको फर्जी विज्ञप्ति जारी भएको भन्दै आपत्ति जनाएका हुन्।
कांग्रेसको आधिकारिकता सम्बन्धमा अदालतबाट मुद्दाको पुनरावलोकन आदेशपछि हतास मानसिकतामा संस्थापन पक्षबाट यस्तो गतिविधि भएको आरोप नेता विश्वकर्माको छ।
'अदालतबाट मुद्दाको पुनरावलोकन गर्ने आदेश आइसकेपछि डराएको हतास मनस्थितिको उपजको रूपमा कार्यक्रमबारे जथाभाबी लेखेर संयोजकको किर्ते हस्ताक्षर गरी तथाकथित, नक्कली, किर्ते विज्ञप्ति जारी गरेको पाइएकोले गम्भीर आपत्ति व्यक्त गर्दै त्यस्ता गतिविधि कसैले नगर्न नगराउन सचेत गराउँदछौँ,' विज्ञप्तिमा भनिएको छ।
प्रकाशित: २६ श्रावण २०८३ १३:१० मंगलबार





