पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले निर्माणाधीन संघीय संसद् भवनको निर्माण कार्यलाई तीव्रता दिई निर्धारित समयसीमाभित्रै सम्पन्न गर्न सम्बन्धित निकाय तथा निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।
सभापति गजुरेलको नेतृत्वमा कृषि समितिका सभापति अशोक कुमार चौधरी, सांसदहरू अरविन्द शाह र पारसमणि गेलालसहित सरोकारवाला निकायका प्रतिनिधि तथा निर्माण व्यवसायीहरूको टोलीले निर्माणाधीन संसद् भवनको स्थलगत निरीक्षण गरेको छ।
निरीक्षणका क्रममा टोलीले संसद् भवन निर्माणको वर्तमान अवस्था, भौतिक प्रगति तथा निर्माणका क्रममा देखिएका समस्या र चुनौतीबारे सम्बन्धित आयोजना पक्षसँग जानकारी लिएको थियो।
सो अवसरमा सभापति गजुरेलले राष्ट्रिय महत्त्वको आयोजनामा भइरहेको ढिलासुस्तीप्रति गम्भीर चासो व्यक्त गर्दै कुनै पनि बहानामा निर्माण कार्य प्रभावित हुन नहुने बताए। उनले आवश्यक जनशक्ति तथा निर्माण सामग्रीको उचित व्यवस्थापन गरी कामलाई तीव्रता दिन र निर्धारित समयभित्र गुणस्तरीय रूपमा निर्माण सम्पन्न गर्न निर्देशन दिए।
उनले संघीय संसद् भवन केवल भौतिक संरचना मात्र नभई मुलुकको लोकतान्त्रिक अभ्यास, संसदीय गरिमा र राष्ट्रिय पहिचानसँग जोडिएको महत्त्वपूर्ण आयोजना भएको उल्लेख गरे। यस्तो राष्ट्रिय महत्त्वको आयोजनामा सबै सम्बन्धित पक्ष जिम्मेवार र जवाफदेही हुनुपर्नेमा उनले जोड दिए।
सभापति गजुरेलले आगामी दिनमा बस्ने संघीय संसद्का बैठकहरू नयाँ संसद् भवनबाटै सञ्चालन गर्न सकिने गरी आवश्यक पूर्वतयारी र व्यवस्थापकीय कार्य समयमै पूरा गर्न सम्बन्धित निकायलाई आग्रह गरे। आगामी अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने लक्ष्यका साथ बाँकी निर्माण कार्यलाई उच्च प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
राज्यको ठूलो लगानीमा निर्माण भइरहेको यस महत्त्वपूर्ण आयोजनामा समय, लागत र गुणस्तरलाई विशेष प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले आयोजना निर्धारित समयमै सम्पन्न गराउनु सबै सरोकारवाला पक्षको साझा जिम्मेवारी रहेको बताए।
निरीक्षणका क्रममा सार्वजनिक पूर्वाधार निर्माणलाई परिणाममुखी बनाउन समयसीमा, गुणस्तर र जवाफदेहिताको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको विषयमा समेत जोड दिइएको थियो।
प्रकाशित: १८ कार्तिक २०८३ ११:२४ बुधबार





