नेपाली कांग्रेसको संस्थापन पक्षले केन्द्रीय महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिसक्दा पूर्वसभापति शेरबहादुर देउवा पक्ष भने छुट्टै महाधिवेशनको तयारीमा जुटेको छ। पार्टीभित्रको नेतृत्व र संगठनात्मक विवादले कांग्रेसका गतिविधि दुई धारमा अघि बढिरहेका बेला देउवा समूहले जिल्ला अधिवेशनलाई पनि निरन्तरता दिएको छ।
देउवा समूहले सिन्धुपाल्चोकमा कात्तिक १६ गते जिल्ला अधिवेशन गर्ने भएको छ। पूर्वमन्त्री तथा कांग्रेस नेता मोहनबहादुर बस्नेतको उपस्थितिमा उनको गृहनगर बाह्रबिसेमा अधिवेशन हुन लागेको हो। अधिवेशनको उद्घाटन बस्नेतले गर्ने कार्यक्रम छ।
बस्नेतले अधिवेशनमा सहभागी हुन आफू निकट नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। संस्थापन पक्षले केन्द्रीय महाधिवेशन गरिसकेको भए पनि देउवा समूहले सिन्धुपाल्चोकमा जिल्ला अधिवेशन गर्न लागेको हो।
यो अधिवेशनलाई देउवा समूहले आफ्नो संगठनात्मक गतिविधि निरन्तरता दिने प्रयासका रूपमा हेरिएको छ। पार्टीको आधिकारिक संरचनाभन्दा अलग रहेर जिल्ला तहमा गतिविधि अघि बढाउनुले कांग्रेसभित्रको विभाजन र समानान्तर संगठन सञ्चालनको अवस्थालाई थप स्पष्ट पारेको छ।
देउवा समूहको घोषित कार्यतालिकाअनुसार कात्तिक १५ गते देशभर जिल्ला अधिवेशन गर्ने तयारी छ। तर केही जिल्लामा स्थानीय परिस्थितिअनुसार मिति परिवर्तन गरिएको छ। यसअघि समूहले सङ्खुवासभा, डोल्पा, हुम्ला, जुम्ला, मुगु, रुकुम पश्चिम, कालिकोट, डोटी, बैतडी र रोल्पामा जिल्ला अधिवेशन सम्पन्न गरेको विवरण सार्वजनिक गरेको थियो।
यसैगरी, काठमाडौं जिल्ला अधिवेशन कात्तिक २१ गते गर्ने तयारी छ। अधिवेशनको पूर्वसभापति देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
देउवा समूहले मंसिर ४ गते प्रदेश अधिवेशन र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ। यसअघि वडा, पालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढाइएको थियो।
अर्कोतर्फ, गगन थापा नेतृत्वको कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ। संस्थापन पक्षले केन्द्रीय महाधिवेशन सम्पन्न गरे पनि जिल्ला र प्रदेश तहका अधिवेशन नगरी नेतृत्व चयन गरेको थियो। देउवा समूहले भने तल्लो तहदेखि नै अधिवेशन गरेर छुट्टै केन्द्रीय नेतृत्व चयन गर्ने रणनीति अघि सारेको छ।
यसबीच सभापति गगन थापाले देउवा समूहलाई अलग्गै महाधिवेशन नगर्न र पार्टीको मूल प्रक्रियामा सहभागी हुन आग्रह गर्दै आएका छन्। उनले पार्टीभित्र एकताका लागि आफू लचिलो हुन तयार रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए। तर देउवा समूहले आफ्नो छुट्टै महाधिवेशन प्रक्रिया रोकेको छैन।
यसरी कांग्रेसभित्र अहिले दुई नेतृत्व र दुई संगठनात्मक प्रक्रियाका गतिविधि समानान्तर रूपमा अघि बढिरहेका छन्।
सिन्धुपाल्चोकको बाह्रबिसेमा हुने जिल्ला अधिवेशन पनि यही प्रक्रियाको एउटा कडी हो।
पार्टीको आधिकारिक नेतृत्व र संगठनात्मक वैधतासम्बन्धी विवाद कायमै रहेका बेला दुवै पक्षका गतिविधिले कांग्रेसको आगामी राजनीतिक तथा संगठनात्मक दिशा कता जाने भन्ने प्रश्नलाई थप पेचिलो बनाएको छ।
प्रकाशित: १३ कार्तिक २०८३ १९:५१ शुक्रबार





