भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपाल केवल छिमेकी मात्र नभएर इतिहास, संस्कृति र परम्परा पनि एकअर्कासँग गाँसिएको बताएका छन्।
सोमबार प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले संयुक्त रूपमा मिडियालाई भ्रमणका उपलब्धिबारे ब्रिफिङ गर्ने क्रममा मोदीले दुई देशबीचको जनताको सम्बन्ध शताब्दीयौंदेखि चल्दै आएको बताए।
२०१८ मा आफ्नो जनकपुर भ्रमणको सम्झना गर्दै उनले भारत र नेपालको सम्बन्ध भगवान राम र माता सीतासँग जोडिएको बताए।
जनकपुरलाई माता सीताको जन्मस्थल र अयोध्या भगवान रामको शहर रहेको बताउँदै उनले दुई स्थानहरूले एकअर्कासँग जोडिएका धार्मिक र सांस्कृतिक महत्वहरूमा जोड दिनुपर्ने बताए।
मोदीले भने, ‘नेपाल बिना हाम्रो तीर्थयात्रा अपूर्ण छ। भारत–नेपाल सम्बन्धको यो अद्वितीय गुणले दुई देशलाई नजिक ल्याउँछ।’
यस्तै, प्रधानमन्त्री मोदीले भारतले नेपाललाई कान्डला र पारादीप बन्दरगाहमा पहुँच दिने र दुई देशबीच सडक, रेल र सीमा सम्पर्क बढाउने र व्यापार र आवागमनलाई सहज बनाउने बताए।
यस्तै, प्रधानमन्त्री मोदीले भारत र नेपालबीच सडक र सीमा सम्पर्क सुदृढ हुँदै गएको बताए। उनले उत्तराखण्ड र नेपालबीचको सडक पुलको धारचुलामा उद्घाटन गरिएको र बनबासामा एकीकृत जाँच चौकीको शिलान्यास गरिएको बताए।
यी परियोजनाहरूले उत्तराखण्ड र नेपाल बीच व्यापार र जनता–जनताको आवागमनलाई सहज बनाउने बताउँदै उनले बिहार र उत्तर प्रदेश लगायत धेरै भारतीय राज्यहरूलाई नेपालसँग जोड्ने सडक, रेल र सीमा कनेक्टिभिटी परियोजनाहरू पनि द्रुत गतिमा अगाडि बढाइने बताए।
प्रकाशित: ७ मंसिर २०८३ १४:२२ सोमबार





-600x400.jpg)