प्रतिनिधिसभा सदस्य भूमिका लिम्बु सुब्बाले अस्पतालको पेटीमा सुत्केरी हुनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पैसा नभएकै कारण गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजको चिसो पेटीमा एक महिलाले बच्चा जन्माउनुपरेको घटनाले राज्यको स्वास्थ्य सेवा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको बताइन्।
‘पैसा नभएकै कारण गजेन्द्र नारायण अस्पतालको चिसो पेटीमा एउटा आमाले बच्चा जन्माएको घटनाले सबैको मन छियाछिया भएको छ,’ उनले भनिन्, ‘प्रसव पीडाले तड्पिरहेकी आमालाई उपचार नगरी अस्पतालको चिसो पेटीमै बच्चा जन्माउनु पर्ने यो हदसम्मको लापरवाहीको जिम्मेवार को हो ?’
उनले जीवन र मृत्युको दोसाँधमा एउटी आमा छटपटाइरहँदा राज्यको उपस्थिति कहाँ थियो भन्ने प्रश्नसमेत गरिन्। सुब्बाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका बेला हुम्ला, जुम्लाजस्ता दुर्गम क्षेत्रका गर्भवती महिलालाई हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित प्रसूति सेवा उपलब्ध गराउने गरिएको उल्लेख गर्दै अहिले सुगम क्षेत्रमै अस्पतालको पेटीमा आमाले बच्चा जन्माउनुपर्ने अवस्था आउनु विडम्बना भएको बताइन्।
‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार हुँदा हुम्ला, जुम्लाजस्ता दुर्गमका आमाहरूलाई हेलिकप्टरबाट सुरक्षित उद्धार हुने, तर आज सुगम ठाउँकै अस्पतालको पेटीमा आमाहरू सुत्केरी हुनुपर्ने, यो कस्तो विडम्बना हो सभामुख महोदय ?’ उनले प्रश्न गरिन्।
उनले अघिल्लो सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा सर्वसाधारणले दुःख पाउनुपरेको दाबी गरिन्। स्वास्थ्य बिमा कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयनमा नल्याए यस्ता हृदयविदारक घटना दोहोरिरहने उनको भनाइ छ।
‘हिजो स्वास्थ्य बिमा प्रभावकारी ढंगले लागू नगरेकै कारण आज सोझा जनताले दुःख पाइरहेका छन्। यसलाई पूर्ण रूपमा अझै लागू नगरे अझै यस्ता हृदयविदारक घटनाहरू घटिरहनेछन्,’ उनले भनिन्।
सुब्बाले अस्पतालको पेटीमा प्रसूति गराउनुपर्ने अवस्थाका लागि जिम्मेवार जोसुकै भए पनि छानबिन गरी कडा कारबाही गर्न सरकारसँग माग गरिन्।
साथै, अबदेखि देशका हरेक आमाले अस्पतालभित्रै सुरक्षित प्रसूति सेवा पाउने सुनिश्चितता गर्न सरकार गम्भीर बन्नुपर्ने उनले बताइन्।
‘अस्पतालको पेटीमा आमा तड्पाउने जोसुकै होस्, छानबिन गरी कडा कारबाही गरियोस् र अब उपरान्त देशका हरेक आमाले अस्पतालभित्रै सुरक्षित प्रसूति सेवा पाउने पूर्ण ग्यारेन्टी यो सरकारले गरोस्,’ उनले भनिन्।
प्रकाशित: २६ भाद्र २०८३ १३:३५ शुक्रबार

