१६ आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

सदनमा प्रतिपक्षको माग बेवास्ता भयो, रित्तै हात भोजपुर फर्किँदैछु : सांसद राई

प्रतिनिधिसभाको अधिवेशन अन्त्य हुँदै गर्दा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकारले प्रतिपक्षले उठाएका प्रश्न र मागलाई बेवास्ता गरेको बताएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद राईले यस अधिवेशनमा प्रतिपक्षले पटक–पटक उठाएका विषय तथा प्रधानमन्त्रीको उपस्थितिको मागलाई सरकार र सभामुख दुवैले बेवास्ता गरेको बताए। 

‘उफ्रिँदै उफ्रिँदै प्रधानमन्त्री ल्याऊ, ल्याऊ भन्दै उफ्री हिँडेको पनि अहिले जस्तो लाग्छ, तर चार–पाँच महिना बितिसकेछ। प्रतिपक्षले धेरै मागहरू, जनताका कुराहरू उठायौँ, यद्यपि उत्तर पाउन सकिएन। यो अधिवेशनमा त यस्तै उस्तै भयो,’ उनले भने। 

उनले देउसीको भाका उल्लेख गर्दै आगामी दिनमा सरकारले प्रतिपक्षका प्रश्नको जवाफ दिन सक्ने वातावरण बन्नुपर्ने बताए। 

‘यो साल यस्तै भयो, अर्को साल आउँदा सुनको छाना’ भनेजस्तै आगामी दिनमा सरकारलाई प्रतिपक्षका प्रश्नको जवाफ दिन सक्ने र जनताका आवाज सम्बोधन गर्न सक्ने बनाउनुपर्ने उनले बताए। 

सांसद राईले नेपालमा विगतमा नेपाली कांग्रेस र माओवादीले बहुमत प्राप्त गरे पनि सरकार सञ्चालनका क्रममा जनअपेक्षाअनुसार काम गर्न नसकेको उदाहरण दिए। 

‘आज रास्वपा त्यत्तिकै शक्तिशाली रूपमा उदाएको छ। युवा साथीहरू, जोगिनुहोला। सत्ता र सरकारलाई पाँच वर्षसम्म टिकाएर जनताले आशा गरेअनुसार काम गर्न सक्नुभयो भने राम्रो हुनेछ,’ उनले भने। 

विभिन्न मन्त्रालयका मन्त्रीहरूले संसद्मा जवाफ दिए पनि सरकार प्रमुखबाट प्रतिपक्षले उठाएका प्रश्नको जवाफ नआएकोमा उनले असन्तुष्टि जनाए। 

‘आज म अधिवेशन सकिँदै गर्दा सम्मानित सदनबाट जनतालाई म रित्तै फर्किँदैछु भनेर भन्नुपर्ने बाध्यता छ। भोजपुरे जनताको घर–आँगनसम्म म उत्साहका साथ फर्केको छैन, किनभने सरकार प्रमुखले जिम्मेवार ढङ्गबाट उत्तर दिन सक्नुभएन,’ राईले भने। 

उनले संसद्मा संख्याका हिसाबले सरकार दुईतिहाइ नजिक देखिए पनि सत्ताको विपक्षमा रहेको जनमतलाई बेवास्ता नगर्न सरकारलाई सचेत गराए। प्रतिपक्षलाई बेवास्ता गर्दा विगतका आन्दोलनको परिस्थिति दोहोरिन सक्ने उनको भनाइ थियो। 

उनले भने, ‘पुराना दलका नेताहरूको गतिविधिका कारण भ्रष्टाचार भयो भनेर घरहरू जलेका थिए। अब हामीले हाम्रा घरहरू जोगाउन निकै मुस्किल पर्ला कि? बहुदलीय अभ्यासमा प्रतिपक्षलाई सजग गराउन दिनुपर्छ, हेलचेक्र्याइँ गर्नुहुँदैन,’ उनले भने। 

सम्बोधनको अन्त्यमा सांसद राईले सरकारले आफैँ आफ्नो सरकार नढालोस् भन्दै शुभकामना समेत दिए। आगामी अधिवेशनमा प्रतिपक्षका मागलाई अपमान नगर्न र त्यस्तो परिस्थिति सिर्जना हुन नदिन उनले सभामुखसमक्ष आग्रह गरे।   

प्रकाशित: १६ आश्विन २०८३ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App