२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई माजिद अन्सारीका २० प्रश्न

जेनजी अभियन्ता माजिद अन्सारीले जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदा पनि आन्दोलनका क्रममा उठेका गम्भीर प्रश्नहरूको जवाफ र पीडितले न्याय नपाएको बताएका छन्।

आन्दोलनको एक वर्षमा अन्सारीले ‘नातावाद, कृपावादले सिर्जना गरेको कुशासन र भ्रष्टाचार’ विरुद्ध पारदर्शिता तथा जवाफदेहिताको मागसहित सुरु भएको आन्दोलनका आधारभूत मागहरू अझै पूर्ण रूपमा सम्बोधन नभएको बताएका छन्।

उनले जेनजी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबीच भएको १० बुँदे सम्झौताको नौ महिनाभन्दा बढी समय बितिसक्दा पनि सम्झौतामार्फत स्थापित गरिएका आधारभूत मुद्दा र मागमध्ये एउटा पनि पूर्ण रूपमा कार्यान्वयन नभएको बताए। अन्सारीले आन्दोलनका क्रममा भएको राज्य दमन, हिंसा, आगजनी र त्यसपछिका राजनीतिक घटनाक्रमबारे सरकारलाई प्रश्न गरेका छन्।

उनले शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलन कसरी अचानक उग्र बन्यो, त्यसलाई उग्र बनाउन कसको र कस्तो भूमिका थियो तथा त्यसको उद्देश्य के थियो भन्ने विषयमा छानबिन हुनुपर्ने माग गरेका छन्।

त्यस्तै, विगतका आन्दोलनमा दलका कार्यालय, मिडिया हाउस तथा संसद् केन्द्रित आगजनीका प्रयास भएका उदाहरण हुँदाहुँदै जेनजी आन्दोलनमा माइतीघरबाट एभरेस्ट होटलतर्फ अघि बढेको ठूलो भीडलाई रोक्न पर्याप्त सुरक्षा व्यवस्था र ब्यारिकेड किन गरिएन भन्ने प्रश्न उठाएका छन्।

साथै उनले सामाजिक सञ्जालमार्फत नाबालक विद्यार्थीलाई समेत आन्दोलनमा सहभागी गराउने गरी भ्रमपूर्ण सामग्री फैलाइएको बताएका छन् । स्कुलको पोशाकमा रहेका विद्यार्थीमाथि प्रहरीले गोली चलाउन नपाउने भन्ने सन्देशसहितको भिडियो फैलिँदा तत्कालीन प्रहरी नेतृत्व, गृह प्रशासन तथा सम्बन्धित जिम्मेवार निकाय मौन बसेको भन्दै उनले त्यसको कारण खोज्नुपर्ने बताएका छन्।

आन्दोलनअघि नै सामाजिक सञ्जालमा मोलोटोभ ककटेल बनाउने तरिका तथा संसद् भवन र सिंहदरबार जलिरहेको देखाउने एआईबाट निर्मित तस्बिर तथा भिडियोहरू फैलिएको भन्दै अन्सारीले सुरक्षा निकायले त्यस्ता सामग्री देख्दादेख्दै सम्भावित हिंसा रोक्न पूर्वतयारी किन गरेनन् भन्ने प्रश्न समेत गरेका छन्।

उनले सिंहदरबार परिसरभित्रै नेपाली सेनाको गण र नजिकै जंगी अड्डा हुँदाहुँदै सिंहदरबारमा आगजनी कसरी भयो भन्ने विषयमा समेत प्रश्न उठाएका छन्। त्यस्तै, कर्फ्यु आदेश जारी भएपछि बिजुलीबजार पुलसम्म रहेको भीडलाई समयमै र पर्याप्त रूपमा माइकिङ गरेर जानकारी किन गराइएन तथा आन्दोलनको अवस्था बिग्रँदै गएको देख्दादेख्दै अग्रपंक्तिमा रहेका नेतृत्वकर्ताले आन्दोलन तत्काल रोक्न पहल किन गरेनन् भन्ने प्रश्न अन्सारीको छ।

एभरेस्ट होटल अगाडि देखिएका कालो रंगको फौजी शैलीको पोशाक लगाएका व्यक्तिहरू को थिए र उनीहरूको उद्देश्य के थियो भन्ने विषयमा पनि उनले अनुसन्धानको माग गरेका छन्। ब्यारिकेड तोड्न कसले उक्सायो र शान्तिपूर्ण प्रदर्शन भनिएको आन्दोलनमा ब्यारिकेड तोड्ने अवस्था कसरी सिर्जना भयो भन्ने प्रश्नसमेत उनले उठाएका छन्। स्कुलको पोशाकमा रहेका नाबालक विद्यार्थीमाथि गोली चलाउने आदेश कसले दियो भन्ने प्रश्नलाई अन्सारीले विशेष रूपमा उठाएका छन्।

आन्दोलनपछिको आगजनी र तोडफोडबारे पनि उनले गम्भीर प्रश्न गरेका छन्। काठमाडौंमा रहेका विभिन्न राजनीतिक नेताका घर तथा कार्यालय, वरिष्ठ अधिवक्ताका कार्यालय र घरसमेत ‘खोजी–खोजी’ जलाइएको भन्दै देशभर एकै समयमा र एउटै शैलीमा भएको आगजनी कसरी सम्भव भयो भन्नेबारे अनुसन्धान आवश्यक रहेको अन्सारीको भनाइ छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई खोज्न हिँडेको भीडलाई सिंहदरबारतर्फ कसले मोड्यो तथा राज्यप्रति आक्रोशित भीडलाई भाटभटेनी र हिल्टन होटल जलाउने दिशामा कसले र किन मोड्यो भन्ने प्रश्न पनि उनले गरेका छन्। त्यस्तै, तत्कालीन थुनुवा रवि लामिछानेलाई थुनामुक्त गर्न गैरकानूनी रूपमा किर्ते कागज बनाउनेमाथि कारबाही किन भएन भन्ने प्रश्न पनि उनले उठाएका छन्। 

अन्सारीले कार्की आयोगको प्रतिवेदनलाई लिएर पनि सरकारसँग प्रश्न गरेका छन्। आयोगले भदौ २३ गतेका घटनाबारे सिफारिस गरे पनि भदौ २४ गतेका घटनाबारे किन मौन रह्यो भन्ने उनको प्रश्न छ। उनले बालेन्द्र शाह नेतृत्वको सरकारले कार्की आयोगले कारबाही सिफारिस गरेका तत्कालीन सशस्त्र प्रहरीका एआईजीलाई प्रहरी महानिरीक्षक (आईजीपी) किन बनायो भन्दै प्रश्न गरेका छन्। आयोगले कारबाही सिफारिस गरेका गृह प्रशासन र प्रहरीका अधिकारीमाथि हालसम्म कारबाही किन नभएको भन्ने प्रश्न पनि उनले गरेका छन्।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय कसले गर्‍यो भन्ने विषयमा समेत अन्सारीले प्रश्न उठाएका छन्। डिस्कोर्डमा सुशीला कार्कीको नाम कसरी आयो, त्यहाँ भएको केही हजार मतलाई तीन करोड नेपालीको जनमतका रूपमा कसरी स्वीकार गरियो तथा ‘डिस्कोर्डबाट प्रधानमन्त्री बनाइयो’ भन्ने भाष्य कसरी सिर्जना भयो भन्ने विषयमा स्पष्टता आवश्यक रहेको उनले बताएका छन्।

कार्की आयोगको प्रतिवेदन निर्वाचनअघि सार्वजनिक नगरिएको विषयमा पनि उनले प्रश्न गरेका छन्। निर्वाचनको मतपरिणाम नआएसम्म प्रतिवेदन सार्वजनिक नगरी किन पर्खिइयो र निर्वाचनपछि प्रतिवेदन कसरी बाहिरियो भन्ने विषयमा छानबिन हुनुपर्ने उनको भनाइ छ। संवेदनशील सरकारी दस्तावेज चुहावट गर्ने व्यक्तिमाथि कारबाही किन भएन र प्रतिवेदन औपचारिक रूपमा अझै सार्वजनिक किन नगरिएको भन्ने प्रश्नसमेत उनले उठाएका छन्।

त्यस्तै, निर्वाचनको केही दिनअघि मात्रै बीबीसी नेपाली सेवाबाट जेनजी आन्दोलनसम्बन्धी भिडियो रिपोर्ट सार्वजनिक हुनुको उद्देश्य के थियो भन्ने प्रश्न पनि उनले गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको पूर्णपाठ अझै सार्वजनिक नगरिएको विषयमा समेत अन्सारीले प्रश्न उठाएका छन्।

अन्सारीले यी सबै प्रश्नको जवाफ आफूहरू अझै पर्खिरहेको बताएका छन्। ‘ढिलोचाँडोको कुरा हो’ भन्दै उनले जेनजी आन्दोलनका शहीद र घाइतेका लागि न्यायको लडाइँ जारी रहने बताएका छन्।

यस्तो छ उनको २० प्रश्न:

१. फूलको थुँगा समेत नचुड्ने प्रतिबद्धताका साथ सुरु भएको आन्दोलन एकाएक कसरी उग्र बन्यो? कसले? कसरी? र के नियतले? आन्दोलनलाई उग्र बनाउने काम गर्यो?

२. जेन-जी आन्दोलन अघि नै ईपीएस कोरिया आवेदन सम्बन्धी आन्दोलन र दुर्गा प्रसाईं नेतृत्वको २०८१ चैत्र १५ गतेको राजावादी आन्दोलनमा दलका कार्यालयहरू, मिडिया हाउसहरु तथा संसद केन्द्रित आगजनीको प्रयासहरू भएको उदाहरण हुँदा हुँदै र जेन-जी एउटा पुस्ता भएकोले जस्तो सुकै व्यक्ति आन्दोलनमा आउन सक्ने सम्भावना देख्दा देख्दै हजारौं आन्दोलनकारी माइतीघरबाट एभरेष्ट होटल तिर जाँदै गर्दा पनि एभरेष्ट होटल अगाडि पर्याप्त व्यारिगेट सहितको प्रहरीकोे व्यवस्था किन गरिएन?

३. जेन-जी पुस्तामा तत्कालीन समयमा १४ वर्षको नाबालक समेत रहेको थाहा हुँदा हुँदै टिकटक मार्फत प्रहरीको पोशाक लगाएको (सम्भवतः ए आई जेनेरेटेड) व्यक्तिले स्कुलको ड्रेसमा आए प्रहरीले गोली चलाउन पाउँदैन, यो इन्टरनेशन कानूनमा छ भन्ने कुराको भ्रम फैलाएर नाबालक विद्यार्थीहरूलाई बन्दुक अगाडि उभिन कसले भूमिका खोल्यो? त्यो भ्रामक र उत्तेजक भिडियोको प्रतिवाद तत्कालीन प्रहरी प्रमुख, तत्कालीन महान्यायाधिवक्ता, तत्कालीन गृह सचिव, तत्कालीन सिडियो, तत्कालीन गृहमन्त्री र कानून मन्त्री लगायतबाट किन भएन? आन्दोलनमा नाबालकहरु आउने सम्भावना देख्दा देख्दै नाबालकहरुकोे बीचमा फैलाइएको भ्रममा राज्यका निकाय तथा जिम्मेवार व्यक्तिहरूद्वारा मौन किन बसियो?  

४. आन्दोलन हुनु भन्दा केही दिन अघि देखि नै टिकटकमा लगभग सबै पोस्टको कमेन्टमा मोलोटभ (पेट्रोल बम) बनाउने तरिकाको फोटो र संसद भवन सहित सिंहदरबार जलिरहेको AI GENERATED तस्बिर र भिडियोहरु कसले फैलाइरहेको थियो? राज्यको सुरक्षा निकायहरूले मोलोटभ र संसद भवन सहित सिंहदरबार जलिरहेको फोटो भिडियो देख्दा देख्दै त्यसलाई रोक्न तयारी किन गरेन?

५. सिंहदरबार परिसर भित्रै सेनाको गण हुँदा हुँदै सिंहदरबारबाट नजिकै जङ्गी अड्डा हुँदा हुँदै पनि सिंहदरबार कसरी जल्यो?

६. कर्फ्यु आदेश जारी भइसकेको सूचना बिजुलीबजार पुल सम्मै रहेको भीडलाई समयमै र पर्याप्त माइकिङ सहित जनाकारी किन दिइएन?  

७. करिब ११ बजे पछि आन्दोलनको अवस्था एकदमै बिग्रिँदै गएको कुरा प्रत्यक्ष रूपमा देखिँदा देखिँदै अग्रपङ्क्तिमा सेतो मिनी ट्रकमा सवार रहेका र माइकको पहुँचमा रहेका नेतृत्वकर्ताहरूले त्यसलाई तत्काल किन सम्बोधन गरेनन्? जोखिम स्पष्ट देखिसके पछि पनि अग्रपङ्क्तिमा सेतो मिनी ट्रकमा सवार जिम्मेवारीहरुले आन्दोलन अघि बढाइरहने कुराको निर्णय कसको थियो?

८. एभरेष्ट होटल अगाडि पुग्दा सम्म कालो रंगको फौजी जस्तो ड्रेस लगाएका व्यक्तिहरू कोे कोे थिए? फौजी जस्तो ड्रेस लगाउनुको उद्देश्य के थियो?

९. ब्यारिकेड तोड्न कसले उक्सायो? यदि उद्देश्य शान्तिपूर्ण प्रदर्शन थियो भने ब्यारिकेड तोड्ने अवस्था कसरी आयो?

१०. स्कुलको पोशाकमै रहेका नाबालक विद्यार्थी माथी गोली चलाउने आदेश कसले दियो?

११. रास्वपा र काठमाडौं नगर प्रमुखको टोली बाहेक काठमाडौंमा रहेको लगभग सबै नेताहरु घर खोजी खोजी छानीछानी कसले र कसरी जलायो? केही वरिष्ठ अधिवक्ताहरूकोे अफिस र घर खोजी खोजी छानी छानी किन, कसले र कसरी जलायो? देशभर एउटै तरिकाले, एउटै समयमा, संगठित रूपमै आगजनी कसरी भयो? एउटै साधन प्रयोग गरेर यो विनाश कसरी सम्भव भयो?

१२. केपी ओली र रमेश लेखक खोज्न हिँडेको भीडलाई सिंहदरबार तर्फ कसले मोड्यो? राज्यप्रति आक्रोशित मानिसहरूलाई भाटभटेनी र हिल्टन होटल जलाउने दिशामा कसले, किन र कसरी मोड्यो?

१३. तत्कालीन थुनुवा रवि लामिछानेलाई थुनामुक्त गर्ने गैरकानूनी किर्ते कागज बनाउनेलाई कारवाही किन भएन?

१४. कार्की आयोगको प्रतिवेदनले २३ गतेको बारेमा सिफारिस गरिरहँदा २४ गतेको बारेमा किन मौन रह्यो?

१५. बालेन्द्र शाह नेतृत्वको जेन-जी शहीद र घाइतेहरुको रगतको नाममा बनेको सरकारले कार्की आयोगकोे प्रतिवेदनले कारवाही सिफारिस गरेको तत्कालीन सशस्त्र प्रहरीकोे AIGP लाई IGP किन बनायो?

१६. कार्की आयोगको प्रतिवेदनले कारवाही सिफारिस गरेका गृह प्रशासन र प्रहरीहरुलाई हाल सम्म कारवाही किन गरिएन?

१७. पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनाउने निर्णय कसको थियो? शुशिला कार्कीको नाम Discord मा कसरी आयो? Discord जहाँ नेपाली बाहेक अरू देशका नागरिकहरू पनि च्याट बक्समा थिए, त्यस्तो एपमा आएको केही हजार थान भोटिङलाई कसरी ३ करोड सार्वभौम नेपालीको भोट मानेर प्रधानमन्त्री स्वीकार गरियो? डिस्कोर्डबाट प्रधानमन्त्री बनाइयो भन्ने गलत भाष्य नै किन सिर्जना भयो?

१८. कार्की आयोगको प्रतिवेदन चुनाव अघि किन सार्वजनिक गरिएन? निर्वाचनको मत परिणाम सम्म प्रतिवेदन सार्वजनिक नगरी चुनाव सम्म पर्खिनुकोे कारण के थियो? चुनाव पछि अचानक कार्की आयोगको प्रतिवेदन कसरी लिक भयो? कसले लिक गर्यो? राज्यको संवेदनशील दस्तावेजको रुपमा रहेको कार्की आयोगको प्रतिवेदन लिक गर्नेलाई राजद्रोहमा कारवाही किन गरिएन? कार्की आयोगको प्रतिवेदन हाल सम्म पनि औपचारिक रुपमा सार्वजनिक किन गरिएन?

१९. जेन-जी आन्दोलन सम्बन्धी भिडियो रिपोर्ट चुनाव भन्दा ठीक केही दिन मात्रै अगाडि के नियतले बिबिसी नेपाल द्वारा सार्वजनिक गरियो?

२०. राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको पूर्णपाठ हाल सम्म किन सार्वजनिक गरिएन?

प्रकाशित: २३ भाद्र २०८३ ११:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App