२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

ओलीको भाषणः पहिले वसुधैव कुटुम्बकम भने, त्यसपछि मोदीमाथि खनिए

सन् २०१४ को लोकसभा निर्वाचनपछि भारतको सत्तामा आएका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमञ्चमा एक संस्कृत सूक्ति उच्चरण गर्न अक्सर छुटाउन्नन्। त्यो हो–वसुधैव कुटुम्बकम्। यसको शाब्दिक अर्थ ‘सारा विश्व–संसार एक परिवार’ भन्ने हुन्छ।  

यसको भावनाले सम्पूर्ण मानव जाति, जीव–जन्तु र प्रकृतिलाई एउटै परिवारका सदस्यका रूपमा हेर्न सिकाउँछ। जाति, धर्म, देश, भाषा वा सीमाभन्दा माथि उठेर मानवता, सहअस्तित्व, करुणा र आपसी सहयोग को भावना विकास गर्नु नै यसको मूल सन्देश हो।

यो सूक्तिको उत्पत्ति प्राचीन हिन्दू ग्रन्थ महाउपनिषद्बाट भएको मानिन्छ। अन्य तमाम ग्रन्थमा यसको प्रयोग भएको छ। यही पवित्र भाव दिने सूक्तिलाई मोदीले कूटनीतिक मञ्चमा प्रयोग गर्छन्।  

यही सूक्ति शनिवार नेकपा एमालेको ११ औँ महाधिवेशनको मञ्चमा अध्यक्ष केपी शर्मा ओलीले उच्चारण गरे।  

‘राजनीति मानव समाजको उन्नती र खुसालसँग सम्बन्धित हुनुपर्दछ,’ ओलीले भने, ‘हाम्रो राजनीति हाम्रा लागि मात्र होइन, विश्व शान्ति, विश्व वातावरण र विश्वव्यापी रूपमा सामाजिक न्याय, समानता र मानव अधिकारको पक्षमा हुनुपर्दछ। वसुधैव कुटुम्बकम्।’ 

झट्ट हेर्दा ओलीले यो भनाई आफ्नो राजनीतिक दृष्टिसँग जोडेर भनेको देखिए पनि त्यसभित्र भने भारतीय प्रधानमन्त्री मोदीप्रति नै कटाक्ष बढी झल्किन्छ। ओलीले आफ्नो भाषणमा लामो समय नामै नलिएर भारत र मोदीप्रति आक्रमक अभिव्यक्ति दिए। त्यसलाई उनले ‘एमालेमाथिको प्रहार’ भन्दै बारम्बार जोडिरहे।  

‘हामीमाथिका प्रहार पनि कम छैनन्। हामी भन्छौँ–देशहरू भूगोलमा साना वा ठुला होलान्, जनसंख्यामा ठुला वा साना होलान्, तर सार्वभौमसत्ता सबैको बराबर हुन्छ। उत्तिकै सम्मानित हुन्छ,’ ओलीले भने। त्यसपछि उनले मोदीको नामै नलिई प्रशंग जोडे, ‘कतिलाई लाग्छ–सानो देशले हामीसँग बराबर खोज्ने। अनि प्रहार हुन्छ।’  

आफू जन्मजात श्रेष्ठताका आधारमा शासन गर्ने व्यवस्था सामन्ती हो भन्नेमा प्रस्ट रहेको बताउँदै सबै नागरिक बराबर र आजको युगमा अनिर्वाचित सत्ता आफूलाई मञ्जुर नभएको बताए। ‘हामी हिंसा या युद्ध समाज परिवर्तनको साधन हुँदैन भन्छौँ, जनताको मन जितेर शान्तिपूर्ण ढंगले पनि समाज परिवर्तन गर्न सकिन्छ भन्छौँ–अनि हामीमाथि प्रहार हुन्छ,’ ओलीले अगाडि भने।  

आफू सार्वभौम मुलुकका रूपमा संविधान बनाउने अधिकार हाम्रै हो भन्दा पनि प्रहार भइरहेको ओलीले टिप्पणी गरे। ‘हामी संविधान संशोधन गर्ने अधिकार हाम्रो हो भन्छौँ। हाम्रो स्वतन्त्रताको प्रयोग, सदुपयोग हामी उपयोग गर्छौँ भन्छौँ,’ मोदीतर्फ लक्षित गर्दै ओलीले भने, ‘कस्तो देशले कुन बाटो रोज्ने? कस्तो राजनीति प्रणाली बनाउने? निर्णय गर्ने अधिकार हाम्रो हो भन्छौँ। कतिलाई मन पर्दैन अनि हामीमाथि प्रहार हुन्छ।’ 

प्रकाशित: २७ मंसिर २०८२ १५:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App