मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले एक आर्थिक वर्षमा गरेको खर्चलाई तुलना गर्दा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली मितव्ययी देखिएका छन्। यो तथ्यांक प्रधानमन्त्री कार्यालयको लेखा शाखाले तयार गरेको हो।
प्रधानमन्त्री कार्यालयले दाहाल प्रधानमन्त्री भएको बेला आर्थिक वर्ष २०८०/८१ र ओली प्रधानमन्त्री भएको बेला आव २०८१/८२ मा गरिएको खर्चको तुलनात्मक विवरण तयार गरेको छ। उक्त विवरण अनुसार दाहालको पालामा गरिएको खर्चभन्दा ओलीको पालामा दुई करोड ६ लाख ६४ हजार तीन सय ५३ रूपैयाँ खर्च घटेको देखिएको छ।
प्रतिवेदन अनुसार दाहालको पालामाभन्दा ओलीको पालामा गरिएको समग्र खर्चमा ३३.२७ प्रतिशतले घटेको देखिन्छ। आव २०८०/८१ मा प्रधानमन्त्री कार्यालयले ६ करोड २१ लाख ३५ हजार एक सय २७ रूपैयाँ खर्च गरेको थियो। आव २०८१/८२ मा ओलीको पालामा प्रम कार्यालयले चार करोड १४ लाख ७० हजार आठ सय ७३ रूपैयाँ ५० पैसा खर्च गरेको देखिएको छ।
पारिश्रमिक, इन्धन, सवारीसाधन मर्मत र विविध लगायतका शीर्षकमा दाहालको पालामाभन्दा ओलीको पालामा खर्च घटेको पाइएको छ। मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले इन्धन, मसलन्द लगायतका शीर्षक आव २०८०/८१ भन्दा आव २०८१/८२ मा २५ प्रतिशतको हाराहारीमा खर्च घटेको पाइएको बताए। ‘प्रधानमन्त्री कार्यालयबाट हुने गरेका सबै खर्चमा सकेसम्म मितव्ययी गरेको कारण खर्च घटेको हो’ उनले भने।
आर्थिक वर्ष २०८०/८१ मा पारिश्रमिक शीर्षकमा दुई करोड ४० लाख २६ हजार आठ सय ७१ रूपैयाँ ३० पैसा खर्च भएको थियो भने ओलीको पालामा आव २०८१/८२ मा उक्त शीर्षकमा एक करोड ६४ लाख ६० हजार चार सय ७९ रूपैयाँ १६ पैसा मात्र मात्र खर्च भएको छ।
यसबाट दाहाल प्रधानमन्त्री भएको बेलाभन्दा ओली प्रधानमन्त्री भएको बेला प्रधानमन्त्री कार्यालयमा कार्यरत कर्मचारी तथा स्वकीय सचिवालयमा कार्यरत पारिश्रमिक शीर्षकमा खर्च ७५ लाख ६६ हजार तीन सय ९२ रूपैयाँ ६४ पैसा खर्च कम देखिएको छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार दाहाल प्रधानमन्त्री भएको बेला प्रधानमन्त्रीको सचिवालयमा कार्यरत तलब बुझ्ने कर्मचारी तथा सहयोगीहरू ९४ जना थिए। हाल ओलीको पालामा १४ जना मात्र कार्यरत रहेको प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले बताए। उनले भने, ‘सचिवलायमा कार्यरत कर्मचारी तथा सहयोगीहरूको संख्या ह्वात्तै घटेपछि त्यही अनुपातमा यस शीर्षका पनि खर्च घटेको हो।’
यसैगरी दाहालको पालामाभन्दा ओलीको पालामा इन्धन शीर्षकको खर्चमा पनि कमी देखिएको छ। दाहाल प्रधानमन्त्री भएको बेला इन्धनमा ७३ लाख ८१ हजार दुई सय ७० रूपैयाँ इन्धन खर्च भएको देखिएको थियो तर ओली प्रधानमन्त्री भएका बेला आव २०८१/८२ मा १४ लाख ९८ हजार एक सय ८७ रूपैयाँ खर्च भएको छ।
इन्धन शीर्षकमा दुई आवबिच भएको खर्च तुलना गर्दा प्रधानमन्त्री कार्यालयले प्रयोग गर्ने सवारी सधानमा खपत हुने इन्धनमा ५८ लाख ८३ हजार २२ रूपैयाँ ३० पैसा खर्च घटेको देखिएको छ। यसैगरी दुई प्रधानमन्त्री कार्यकालमा सवारी मर्मत खर्च शीर्षकमा पनि दाहालको पालामाभन्दा ओलीको पालमा खर्च घटेको पाइएको छ।
प्रधानमन्त्री कार्यालयमा प्रयोग गरिने सवारी साधानहरूको ममर्त तथा सम्भार शीर्षकमा मात्र आव २०८०/८१ मा ५९ लाख ५० हजार नौसय २६ रूपैयाँ खर्च भएको थियो। ओलीको पालामा आव २०८१/८२ मा सवारी साधनको इन्धन मर्मत शीर्षकमा ५७ लाख २२ हजार नौ सय ७६ रूपैयाँ खर्च भएको पाइएको छ। यो भनेको ३.३ प्रतिशतले यस शीर्षकमा खर्च घटेको पाइएको हो।
दाहाल र ओली प्रधानमन्त्रीको पालामा प्रधानमन्त्री कार्यालयले गरेका आठ वटा शीर्षक मध्ये ६ वटा शीर्षक पारिश्रमिक, सञ्चार महसुल, इन्धन, सवारी तथा मर्मत, मसलन्द तथा कार्यालय सामाग्री, तथा विविध शीर्षकमा दाहालभन्दा ओलीको पालामा खर्च घटेको पाइएको छ। दुई वटा शीर्षकमा भने दाहालको पालामाभन्दा ओलीको पालमा खर्च भएको देखिएको छ। पोसाक र अनुगमन तथा मूल्यांकन शीर्षकमा भने ओलीको पालमा खर्च बढेको देखिएको छ।
आव २०८०/८१ मा पोसाक शीर्षकमा चार लाख ४८ हजार दुई सय १० रूपैयाँ खर्च भएको छ। तर आव २०८१/८३ मा पोसाक शीर्षकमा पाँच लाख ३९ हजार ९० रूपैयाँ खर्च बढेको देखिएको छ। यो भनेको आोलीको पालामा पोसाक शीर्षकमा १०.४२ प्रतिशतले खर्च बढेको हो।
यसैगरी अनुगमन तथा मूल्यांकन शीर्षकमा आव २०८०/८१ मा २१ लाख ९४ हजार नौ सय ६१ रूपैयाँ हजार खर्च भएको थियो भने आव २०८१/८२ मा ३३ लाख ५२ हजार तीन सय पाँच रूपैयाँ खर्च भएको देखिएको छ। यो भनेको दाहालको पालामाभन्दा ओलीको पालामा अनुगमन तथा मूल्यांकन शीर्षकमा ११ लाख ५७ हजार तीन सय ४४ रूपैयाँ ६४ पैसा बढी खर्च हो।
२०७९ को प्रतिनिधिसभाको निर्वाचनपछि २०७९ पुस १० गते दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए। त्यसपछि उनले २०८१ असार ३० गतेसम्म उनी प्रधानमन्त्रीमै कार्यरत थिए। यसबाट आव २०८०/८१ को पूरै कार्यालयभरि दाहाल प्रधानमन्त्री भए। २०८१ असार ३० गते ओली प्रधानमन्त्रीमा नियुक्त भए। त्यसैले आव २०८१/८२ भरि ओली प्रधानमन्त्री भएका हुन्। एक आर्थिक वर्षमा प्रधानमन्त्री कार्यालयले गरेको खर्च हेर्दा एक आवभरि दाहाल र अर्को आवभरि ओली प्रधानमन्त्री भएका छन्।
प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि उनले प्रधानमन्त्री कार्यालयमा कर्मचारीहरूको दरबन्दी तथा खर्च घटाउने निर्णय गरेका थिए। प्रधानमन्त्री कार्यालयमा कार्यरत कर्मचारीहरूको दरबन्दी घटेको कारण पनि आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा दुई करोड रूपैयाँ हाराहारीमा खर्च घटेको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ।
प्रकाशित: १५ श्रावण २०८२ १०:२८ बिहीबार





