१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

ओली र देउवामा नै चुनावी उत्साह देखिँदैन: डा. लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले प्रमुख दलका शीर्ष नेताहरूमै निर्वाचनको उत्साह नदेखिएको टिप्पणी गरेका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रममा बोल्दै डा. लोहनीले कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मनोविज्ञानको विश्लेषण गर्दै उनीहरूमा निर्वाचनप्रति खासै उत्साह नपाइएको बताएका हुन्।

डा. लोहनीले देशको वर्तमान तरल राजनीतिक अवस्था र विगतका घटनाक्रमले गर्दा शीर्ष नेताहरूमा चुनावमा होमिनका लागि आवश्यक जोस नदेखिएको तर्क गरेका हुन्।

‘अहिलेको राजनीतिक परिवेशमा जुन उत्साहले चुनावमा होमिनुपर्ने थियो, त्यो देखिएको छैन,’ डा. लोहनीले भने, ‘शेरबहादुरजीको आफ्नै गुनासा र कथा-व्यथाहरु होलान्, ओलीजीको चाहिँ हेलिकप्टरबाटै कुदेर भाग्नुपर्ने स्थिति आएको थियो। यो सबै राजनीतिक परिवेश हेर्दा फेरि त्यही परिवेशमा जानका लागि उहाँहरूमा त्यति उत्साह छैन होला।’

आफू जित्ने सुनिश्चितता हुँदा नेताहरू उत्साहित हुनुपर्ने भए पनि अहिलेको वातावरणले उनीहरूलाई सशंकित बनाएको हुनसक्ने उनको विश्लेषण छ।

चुनाव आउन एक महिना मात्र बाँकी रहँदा पनि ‘इलेक्सन टेम्पो’ नबढेकोमा उनले आश्चर्य व्यक्त गरे। उनले भने, ‘अझै पनि कतिपय मानिसमा चुनाव हुन्छ कि हुँदैन भन्ने शंका छ। प्रमुख दलका नेताहरूले सहयोग नगरेको वा नचाहेको जस्तो देखिन्छ।’

उनले जनतामा मनोवैज्ञानिक त्रास र असुरक्षाको भावना कायमै रहेको र नेताहरूमा पनि आत्मविश्वासको कमी देखिँदा निर्वाचनको माहोल सुस्त भएको बताए।

डा. लोहनीले आफू भने यसपटकको निर्वाचनमा उम्मेदवार नबनी पार्टीका एजेन्डा र अन्य उम्मेदवारलाई जिताउन सक्रिय रहने स्पष्ट पारे।

प्रकाशित: २१ माघ २०८२ १९:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App