२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसमा कोही ठूलो-सानो छैन, सभापति र साधारण सदस्य बराबर हुन्: गगन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसभित्र कोही ठूलो र कोही सानो नहुने बताएका छन्।

आइतबार भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीमा सभापतिदेखि साधारण सदस्यसम्मको हैसियत बराबर रहेको दाबी गरे।

‘श्रद्धेय सभापति हुनुहुन्छ, हामी यहाँ महामन्त्री छौँ, तल थुप्रै साथीहरू बस्नुभएको छ,’ थापाले भने, ‘मञ्चमा बस्ने महामन्त्री पनि, आज यहाँ नआउनुभएको सभापति पनि र तल बस्ने साथीहरू पनि कांग्रेसको सदस्य हो। दुइटै बराबर हो।’

उनले पार्टीमा प्राप्त हुने पद केवल जिम्मेवारी मात्र भएको र त्यसले मान्छेलाई ठूलो-सानो नबनाउने प्रस्ट पारे।

‘यहाँ कोही ठूलो, कोही सानो छैन। पद मात्रै हो, जिम्मेवारी मात्रै हो। सबै बराबर हो,’ थापाले भने, ‘कांग्रेस भनेकै त्यही हो। कांग्रेसमा कुनै ‘हायरार्की’ (पदसोपान) छैन। भएको भए यो पार्टी नै बन्दैनथ्यो।’

महामन्त्री थापाले कांग्रेस सबैको साझा घर भएको र यहाँ सबैको हक लाग्ने बताए। उनले पार्टीको विधान र अधिकारको व्याख्या गर्दै सबैभन्दा बढी अधिकार तल्लो तहका सदस्यमा निहित रहेको जिकिर समेत गरे।

‘उहाँ (सभापति) ले जिम्मा दिएर पठाएको होइन, तपाईंहरूले जिम्मा दिएर हामीलाई पठाएको हो,’ उनले भने, ‘त्यसैले नेतृत्वले गल्ती गर्दा प्रश्न गर्ने र सच्याउने अधिकार तपाईंहरूलाई छ।’

प्रकाशित: २७ पुस २०८२ १८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App