२३ आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय पहिचान र पोसाकको अवमूल्यन गरेर कोही सच्चा क्रान्तिकारी हुन सक्दैन : कमल थापा

पूर्वउपप्रधानमन्त्री कमल थापाले राष्ट्रिय पहिचान र पोसाकको अवमूल्यन गरेर कोही सच्चा क्रान्तिकारी हुन नसक्ने बताएका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसको महाधिवेशनलाई शुभकामना दिँदै थापाले यस्तो बताएका हुन्। उनले कांग्रेसले आफ्ना संस्थापक नेताहरूको मौलिक विचार र आदर्शलाई आत्मसात् गर्नुपर्ने बताए।

'नेपाली कांग्रेसको महाधिवेशनलाई शुभकामना,' उनले भनेका छन्, 'राष्ट्रिय पहिचान र पोसाकको अवमूल्यन गरेर कोही सच्चा क्रान्तिकारी हुन सक्दैन।'

थापाले नेतृत्वको अनुहार र पात्र परिवर्तन हुँदैमा देशको मुहार परिवर्तन हुन्छ भन्ने धारणा भ्रम भएको भनाइ राखे।

उनले मुलुकको भू–राजनीतिक संवेदनशीलता, सामाजिक–सांस्कृतिक यथार्थ र धरातलीय आवश्यकतालाई आत्मसात् गर्दै वर्तमान राजनीतिक प्रणालीमा आमूल सुधार गर्नुपर्ने बताए। त्यसो नगरेसम्म जनताले चाहेको शान्ति, स्थायित्व र समृद्धिको गन्तव्यमा पुग्न असम्भव रहेको थापाको दाबी छ।

'नेतृत्वको अनुहार र पात्र फेरिँदैमा देशको मुहार फेरिन्छ भन्नु केवल भ्रम हो। मुलुकको भू-राजनीतिक संवेदनशीलता, सामाजिक-सांस्कृतिक यथार्थ र धरातलीय आवश्यकतालाई आत्मसात् गरी वर्तमान राजनीतिक प्रणालीमा आमूल सुधार नगरेसम्म जनताले चाहेको शान्ति, स्थायित्व र समृद्धिको गन्तव्य भेट्टाउन असम्भव छ,' उनले भने।

साथै, उनले बीपी, गणेशमान र किसुनजीको पार्टीले उनीहरूका मौलिक विचार र आदर्शलाई पन्छाएर उनीहरूको सपना कदापि पूरा गर्न नसक्ने जिकिर गरे।

प्रकाशित: १९ आश्विन २०८३ ०७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App