२१ भाद्र २०८३ आइतबार
image/svg+xml
राजनीति

श्रीराम न्यौपाने र सागर ढकाललाई फिर्ता बोलाउने कुनै औपचारिक निर्देशन भएको छैन : गणेश पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका उपनेता एवं सांसद गणेश पराजुलीले श्रीराम न्यौपाने र सागर ढकाललाई फिर्ता बोलाउने कुनै औपचारिक निर्देशन भएको नभएको बताएका छन्।

उनले केन्द्रीय समिति, सचिवालय वा पार्टीको कुनै पनि तहबाट विपद् प्रभावित क्षेत्रमा खटिएका कुनै व्यक्ति विशेषलाई लक्षित गरी फिर्ता बोलाउने कुनै औपचारिक निर्णय वा निर्देशन भएको नभएको स्पष्टीकरण दिएका हुन‍‍्। उनले यस सम्बन्धमा सार्वजनिक रूपमा उत्पन्न भएको भ्रमलाई स्पष्ट पार्न चाहेको बताउँदै सामाजिक सञ्जालमार्फत उल्लेख गरे।

विपद्को यस संवेदनशील घडीमा पार्टीका साधारण सदस्यदेखि नेतृत्व तहसम्म सबैको भूमिका राज्यका खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी, व्यवस्थित र सहयोगी बनाउने हुनुपर्ने पार्टीको नीति र निर्देशन सुरुदेखि नै स्पष्ट रहेको उनको भनाइ छ।

'सञ्चारकर्मी साथीहरूसँगको संवादका क्रममा पार्टीका माननीय सागर ढकाल र माननीय श्रीराम न्यौपाने दुई उद्धार कार्यमा खटीरहेको हकमा मैले व्यक्त गरेको आशय पनि फिल्डमा हामी कसैको उपस्थितिले राज्यका सुरक्षा निकाय तथा उद्धार संयन्त्रको कार्यसम्पादनमा व्यवधान नपुगोस् र जहाँ जसको सीप, दक्षता तथा विशेषज्ञता आवश्यक छ, त्यहाँ त्यसको अधिकतम उपयोग होस् भन्ने मात्र हो,' उनले भने, 'उक्त अभिव्यक्तिलाई फरक सन्दर्भ वा अर्थमा बुझिँदा वा पार्टीबाट कुनै औपचारिक निर्णय भएको जस्तो गरी समाचार सम्प्रेषण हुँदा भ्रम सिर्जना हुन गएकोप्रति मेरो ध्यानाकर्षण भएको छ।'

वास्तवमा विपद् प्रभावित क्षेत्रमा विभिन्न सीप, दक्षता र विशेषज्ञतासहित खटिएकाहरूको योगदानले खोज तथा उद्धार कार्यमा सहयोग पुगेको र यस्तो योगदानको आफूहरूले सम्मान गरेको बताए।

'पार्टीको स्पष्ट आग्रह छ, जहाँ जसको सीप, क्षमता र विशेषज्ञता आवश्यक छ, उहाँहरू सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी नागरिकको जीवन रक्षाका लागि खटिनुहोस्,' उनले भने।

यस्तै, पराजुलीले यतिबेला व्यक्तिगत वा राजनीतिक टीकाटिप्पणीभन्दा माथि उठेर एक–एक जनताको जीवन रक्षा गर्नु नै सबैको साझा र सर्वोच्च दायित्व भएको बताए। उनले भने, 'हाम्रा सम्पूर्ण सामर्थ्य, समन्वय र जिम्मेवारीका साथ नागरिकको सेवामा जुट्नको लागि हार्दिक अपिल गर्दछु।'

प्रकाशित: २१ भाद्र २०८३ ०६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App