२१ भाद्र २०८३ आइतबार
image/svg+xml
राजनीति

नागरिकको चित्कार समयमै सुनौं, उद्धारमा ढिलाइ नगरौं: गगन थापा

विपद्‌मा परेका नागरिकको उद्धारमा भइरहेको ढिलाइप्रति जनआक्रोश तीव्र रूपमा बढिरहेको भन्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई राज्यका सम्पूर्ण संयन्त्र तत्काल परिचालन गर्न आग्रह गरेका छन्।

अहिलेको सङ्कटको घडीमा राजनीतिक आरोप-प्रत्यारोपमा नअल्झी नागरिकको ज्यान बचाउने कार्यलाई पहिलो प्राथमिकता दिनुपर्ने उनको अडान छ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बोल्दै सभापति थापाले आगामी केही दिन सरकार र सबै राजनीतिक दलहरू केवल उद्धार कार्यमा मात्रै केन्द्रित हुनुपर्ने बताए।

फिल्डमा खटिएका प्राविधिक तथा विपद्‌मा परेका पीडित परिवारका सदस्यहरूले समयमा राज्यको सहयोग नपाएको भन्दै गुनासो गरिरहेको तर्फ उनले नेतृत्वको ध्यानाकर्षण गराए।

पीडितहरूको पीडा र आक्रोशलाई औंल्याउँदै सभापति थापाले भने, ‘प्रभावित परिवारका मानिसहरूले हाम्रो बारेमा सुनिएन, हामीलाई ठीक समयमा सुनिएन भन्ने आक्रोश छ। यो त सधैँभरि रहन्छ।’

समयमै राज्यको उपस्थिति नदेखिँदा जनतामा निराशा र आक्रोश पैदा भएको उनको भनाइ थियो। सभापति थापाले घटनाका कमजोरी र कमीकमजोरीबारे गरिने राजनीतिक समीक्षा र गम्भीर बहसलाई तत्कालका लागि थाती राख्नुपर्ने बताए।

‘अहिले आरोप-प्रत्यारोप होइन, तत्कालीन उद्धारको चरण सकिएपछि घटनाबारे गम्भीर बहस र छलफल गरौंला,’ उनले भने, ‘अहिलेको एकमात्र प्राथमिकता भनेको प्रभावित नागरिकको तत्काल उद्धार, द्रुत राहत र आवश्यक सहयोग पुर्‍याउनु नै हो।’

प्रकाशित: २१ भाद्र २०८३ १६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App