राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालका मौलिक चाडपर्व, संस्कृति र ऐतिहासिक सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले नेपालमा धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका थुप्रै पर्व र सम्पदा भए पनि तिनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन नसकिएको बताए।
उनले जनकपुरको छठ पर्व, विवाह पञ्चमी, सीता जयन्ती र रामनवमीजस्ता पर्वलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सके पर्यटन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुग्ने बताए।
‘जनकपुरमा केही समयपछि हामी छठ पर्वमा सहभागी हुनेछौँ। तर छठ पर्वलाई हामीले किन अन्तर्राष्ट्रियकरण गर्न सकिरहेका छैनौँ। के कुराले रोकिरहेको छ ? विवाह पञ्चमीमा ठूलो भीड लाग्छ, तर त्यसले राजस्व वृद्धि र रोजगारी सिर्जनामा सहयोग पुर्याउन सकेको छैन भने हामी रणनीतिक रूपमा कमजोर छौँ,’ उनले भने।
सांसद झाले नेपालले आफ्ना चाडपर्व र संस्कृतिको ऐतिहासिक तथा धार्मिक महत्त्व बुझेर त्यसको प्रभावकारी बजारीकरण गर्नुपर्ने बताए।
उनले जर्मनीको अक्टोबरफेस्ट र स्पेनको टोमाटिना पर्वको उदाहरण दिँदै स्थानीयस्तरका सामान्य उत्सवलाई पनि व्यवस्थित प्रचारप्रसारमार्फत अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बनाउन सकिने धारणा राखे।
उनले जनकपुरका सांस्कृतिक सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने तयारी भइरहेको उल्लेख गर्दै त्यसका लागि गुठी संस्थानलगायत सम्बन्धित निकायले गरिरहेको पहल सकारात्मक रहेको बताए।
त्यसैगरी उनले कुकुर तिहारलाई समेत अन्तर्राष्ट्रियकरण गर्न सकिने सम्भावना औँल्याए। विश्वभर कुकुर घरपालुवा जनावरका रूपमा पालिने भए पनि कुकुरको पूजा गरी विशेष पर्वका रूपमा मनाउने संस्कृति नेपालमा रहेको भन्दै उनले यसको विशिष्टतालाई विश्वसामु चिनाउनुपर्ने बताए।
‘हामीले कुकुर तिहारलाई कसरी अन्तर्राष्ट्रियकरण गर्न सक्छौँ ? त्यसको कथा कसरी विश्वसामु बेच्न सक्छौँ र विश्वलाई आफ्नो तर्फबाट एउटा उत्सवको उपहार कसरी दिन सक्छौँ भन्ने विषयमा सोच्नुपर्छ,’ उनले भने।
यस्तै, सांसद झाले काठमाडौं उपत्यकाको उत्तरी क्षेत्रमा रहेको बुढानीलकण्ठ मन्दिरको धार्मिक तथा सांस्कृतिक महत्त्वबारे पनि चर्चा गरे।
उनले विभिन्न धर्म र विश्वाससँग जोडिएका यस्ता ऐतिहासिक कथाहरूलाई समाजमा बुझाउन र अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न आवश्यक रहेको बताए।
नेपालका इतिहास, धर्म र संस्कृतिको गहिराइ बुझेर तिनलाई पर्यटनसँग जोड्न सके रोजगारी सिर्जना र राजस्व वृद्धिमा सहयोग पुग्ने उनको भनाइ थियो।
उनले धार्मिक तथा सांस्कृतिक विषयलाई एकअर्काको विरोध गर्ने माध्यम मात्र नबनाई तिनमा लुकेका सम्भावनाको खोजी गर्न सबै सरोकारवाला पक्षलाई आग्रह गरे।
प्रकाशित: १६ आश्विन २०८३ १४:५२ शुक्रबार


-600x400.jpg)


